२०८३ असोज २४ गते शनिबार

उल्टो हावा चलेको छ, राष्ट्रपतिमा राष्ट्रिय सहमती उचित हुन्छ: प्रधानमन्त्री दाहाल

उल्टो हावा चलेको छ, राष्ट्रपतिमा राष्ट्रिय सहमती उचित हुन्छ: प्रधानमन्त्री दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ८ गते सोमबार ०५:३४

उल्टो दुषित हावा चल्न थालेकाले प्रमुख राजनीतिक शक्तिहरु एक हुनुपर्ने उनको दाबी छ । ‘अहिले गएको चुनावमा पनि धेरै सुल्टो हावा चलेको हैन उल्टो चलेको देखियो’, राप्रपाले पाएको मतप्रति इंगित गर्दै प्रचण्डले भने ।

पोखरा
प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति उचित हुने बताएका छन् । सोमबार पार्टीको गण्डकी प्रदेश कमिटीको छैठौं पूर्ण बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले देशमा राजतन्त्र फर्कन सक्ने संकेत गर्दै राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी भएपछि लेखनाथमा बसेको प्रदेश कमिटीको बैठकमा उनले भने, ‘असाधरण स्थिति सिर्जना भयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन घोषणा भइसक्या’छ । हामीले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख र उपसभामुखमा राष्ट्रिय सहमति गर्नु उचित हुन्छ ।’

देशको आर्थिक स्थिति, राजनीतिक स्थिति, साँस्कृतिक स्थिती सबै हेर्दा प्रमुख राजनीतिक शक्तिहरु एक हुनुपर्ने अवस्था आएको उनले बताए । उल्टो दुषित हावा चल्न थालेकाले प्रमुख राजनीतिक शक्तिहरु एक हुनुपर्ने उनको दाबी छ । ‘अहिले गएको चुनावमा पनि धेरै सुल्टो हावा चलेको हैन उल्टो चलेको देखियो’, राप्रपाले पाएको मतप्रति इंगित गर्दै प्रचण्डले भने ।

राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति लक्षित गर्दै उनले भने, ‘अहिले तपाई मेची भनेर जस्तो भयो मैले उहिले जनयुद्धकै बेलामा यो ज्ञानेन्द्रको कलाविहिन नाटक भनेर भन्याथे । अहिले पनि देख्नुभो मेचीमा कलाविहिन नाटक । ७ गते वक्तव्य हेर्नु भो भने त्यो च्यालेन्ज जस्तो । त्यो हिम्मत कसरी भो ?’ अहिलेको परिस्थितीमा १२ बुँदे समझदारी, शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने उनले दोहो¥याए । ‘अर्थतन्त्रमा सुधार, स्थायीत्वका लागि एक ठाउँमा उभिन जरुरी छ । त्यो भएर हामीले राष्ट्रिय सहमति भन्या हो’, प्रचण्डले भने ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनेमा जोड दिँदै उनले भने, ‘राष्ट्रपतिमा साझा व्यक्तित्व खोजेर पनि राष्ट्रिय सहमति हुन सक्छ । कुनै पार्टीको मान्छेमा सबैले सहमति गरेपनि त्यो पनि राष्ट्रिय सहमति हुन सक्छ ।’
प्रचण्डले अगाडि थप्दै भने, ‘या एउटा पार्टीले राष्ट्रपति, एउटा पार्टीले प्रधानमन्त्री, एउटा पार्टीले सभामुख लिएर पनि राष्ट्रिय सहमति हुन सक्छ । सब लाएन भने चुनाव गरेर पनि राष्ट्रिय सहमती हुन सक्छ ।’
‘विघटनको डिलतिर पार्टी छ, पुननिर्माणमा जुट्यौ’

प्रचण्डले अब नेकपा माओवादी केन्द्रलाई दरिलो पार्टी बनाउनलाई २ विकल्प रहेको कार्यकर्तामाझ सुनाए । प्रचण्डका अनुसार पहिलो विकल्प पार्टीलाई घात अन्तरघात गर्ने सबलाई कारबाही गर्ने । उनले भने, ‘इमान्दार नेता र कार्यकर्तालाई मात्रै राख्ने । र पार्टी पुर्नगठन गर्ने एउटा पाटो भो ।’ यसरी कारबाही गरे कतिपय क्षेत्रमा त एक जना पनि नेता कार्यकर्ता बाँकी नरहन सक्ने उनको भनाई छ । दोस्रो विकल्प पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने र नभएकासँग समाजवादी मोर्चा बनाउने उनले बताए । नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टीसँग समाजवादी मोर्चा बनाउन तत्काल सहमति भएको प्रचण्ड खुलाए ।

उनले भने, ‘अहिले विप्लबहरु पनि मोर्चा बनाउनेमा सहमतै देखिन्छन् ।’ उनले समाजवादी मोर्चाबाट नयाँ पार्टी बनाउने सकिने सुनाए । दोस्रो विकल्प अनुसार पार्टी पुर्नजागृत हुने प्रचण्डको विश्वास छ । पार्टी विघटनको डिलतिर भएकाले पुननिर्माणमा जुट्न प्रचण्डको आग्रह छ । ‘तपाईहरुले भोलियन्टरल्ली म केमा छु र छैन भन्ने छाडेर यो पार्टी पुननिर्माण गर्नुछ । पार्टी अफ्ठ्यारोमा छ । विघटनको डिलतिर छ । यसलाई बचाउनु छ’, उनले अनुरोध गरे, ‘हजारौं लाखौं कार्यकर्ता छन् । त्यत्रा सहिदहरु, बेपत्ता घाइते अपांग भको महान पार्टी भन्या हो हाम्लो । हो पनि यो महान पार्टी । तर यसलाई पुर्नगठन गर्नुछ भनेर तपाईहरुले तजविजमा ल्याइदिनुभो भने ठूलो कन्ट्रीवेसन हुन्छ ।’

 

प्रकाशित मिति २०७९ फागुन ८ गते सोमबार ०५:३४
हजुरको प्रतिक्रिया