२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

वर्ष दिनलाई खाजा–इन्धनमा छुट्याएको सवा करोड ६ महिनामै खर्च

विकास मगर

@Public 4K Tv

२०७९ फागुन १३ गते शनिबार ०९:१७

महानगरले ८७ लाख ७१ हजार इन्धनमा र चियापानमा मात्रै ८ लाख २१ हजार रुपैयाँ ६ महिनामा मात्रै खर्च गरेकाे छ

पोखरा

पोखरा महानगरले पूरै आर्थिक वर्षका लागि छुट्याएको खाजा र इन्धन खर्च ६ महिनामै सकेको छ । माघ मसान्तभित्रै पूरै आर्थिक वर्षका लागि खाजा र इन्धनका लागि छुट्याइएको १ करोड १२ लाख रुपैयाँ पोखरा महानगरले खर्च गरेको हो ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा महानगरले ८७ लाख ७१ हजार रुपैयाँ इन्धनमा मात्रै खर्च गरेको छ । विविध शीर्षकमध्ये चियापानमा मात्रै ८ लाख २१ हजार रुपैयाँ पुस मसान्तसम्ममात्रै खर्च भएको तथ्यांक छ ।

महालेखा परीक्षकको कार्यालयले गत वर्ष सार्वजनिक गरेको स्थानीय तहको प्रतिवेदनले पोखरा महानगरमा खाजा खर्चको नाममा चरण लापरवाही भइरहेको देखाएको थियो । एक आर्थिक वर्षमै २ करोड ४० लाख रुपैयाँ खाना, खाजामै खर्च भएको प्रतिवेदनमा उल्लेख थियो ।

पोखरा महानगगरबाट खाजा खानामै ठूलो रकम खर्च भइरहेको तर, त्यसको प्रयोजन नखुलेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले भनेको थियो, ‘खर्चको प्रमाण हेर्दा बिलमात्रै आएको देखिन्छ, प्रयोजन खुल्दैन । यस्तो प्रवृत्ति नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नुपर्छ ।’

तर, महालेखाको सुझावलाई लत्याउँदै यस आर्थिक वर्षमा त झन् आधा कार्यकालमै पोखरा महानगरले खाजा, खानामै ठूलो रकम खर्चिएको छ । महानगरले चालु आर्थिक वर्षमा खाजा, खाना तथा अतिथि सत्कारका नाममा ‘विविध’ शीर्षकमा २५ लाख रुपैयाँ छुट्याएको थियो । चालु आर्थिक वर्षका लागि इन्धनका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सम्बन्धित जनप्रतिनिधि, कर्मचारीबाहेक ककसले, कतिकति इन्धन लगे वा दिइयो भन्नेबारे महानगरले तथ्यांकसमेत राखेको छैन । जसका कारण इन्धनका नाममा लाखौं रकम हिनामिना भइरहेको महानगर स्रोतको दाबी छ । पोखरा महानगरबाट प्राप्त तथ्यांकअनुसार पनि मासिक १२ देखि १४ लाख रुपैयाँसम्म इन्धनमै खर्च भइरहेको देखिन्छ ।

लेखापाल तोरण कुँवरका अनुसार महानगरबाट इन्धन कुपन लिएर कालिका फ्युल, ओम पेट्रोलिङ र रानीपौवा पेट्रोल पम्पबाट इन्धन लैजान पाउने सुविधा छ ।

महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जीतेन्द्रमान केसीले भौगोलिक रुपमा ठूलो महानगर भएकाले स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति भइरहँदा चियाखाजामा ठूलो खर्च देखिन गएको सुनाए ।
सूचना अधिकारी केसीले विविध शीर्षकमा भएको खर्च सिंगो महानगरकै भएकाले पनि एकै पटक ठूलो रकम खर्च भएको बताउँछन् ।

महानगर प्रमुख धनराज आचार्यले महानगरको खाजा, खानामा त्यति ठूलो खर्च नभएकाले शीर्षकअनुसार नै हेर्नुपर्ने बताए । प्रमुख आचार्यले इन्धनमा भने ल्यान्डफिल साइटको व्यवस्थापन गर्नुपर्दा ठूलो रकम खर्च भइरहेको बताए ।

प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०९:१७
हजुरको प्रतिक्रिया