पोखरा
पोखरा रंगशालामा १३ औं कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् । मुख्यमन्त्री अधिकारीले पोखरालाई खेलकुद सहरका रुपमा विकास गर्नुपर्ने बताए । पोखरा पर्यटकीय सहर भएकाले पर्यटनसँग खेलकुदलाई जोड्नु पर्ने बताए ।
सोमबारसम्म हुने प्रतियोगितामा कास्कीका पाँच पालिका पोखरा महानगरपालिका, मादी, रुपा, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकाका विद्यार्थी सहभागी छन् ।
आज भएको १५ सय मिटर छात्र दौडमा पोखरा महानगरपालिकाका प्रवेश आचार्य प्रथम, पोखराकै तेन्जोन रोका द्वितीय र माछापुच्छे गाँउपालिका तेजप्रसाद ढकाल तेस्रे भए । १५ सय मिटर छात्रा दौडमा पोखरा महानगरका नारायणी भण्डारी प्रथम, पोखराकै कविता मगर द्वितीय र माछापुच्छे«का करुणा कुमाई तृतीय भइन् ।
विजेता खेलाडीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख जिलाधर पौडेल, अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णु केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानिया लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए । रनिङ सिल्डमा छात्र/छात्रा भलिबल, एथ्लेटिक्स, कबड्डी, तेक्वान्दो, उसु, कराँते लगायतका खेल समावेश गरिएको छ । आइतबार उद्घाटन अगाडि गरिएको मार्च पासमा पोखरा महानगरपालिका प्रथम, माछापुच्छ्रे गाउँपालिका द्वितीय र मादी गाउँपालिका तृतीय भएका थिए ।
प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०१:१२




