काठमाडौं
राष्ट्रपति निर्वाचनको लागि फागुन २५ गते मतदान हुँदैछ । मतदान हुने दिनको एक साता अघिदेखि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चैत ५ गतेसम्मलाई निर्वाचन आचारसंहिता जारी गरेको हो ।
राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन् । पौडेललाई कांग्रेस र माओवादीसहित आठ दलको समर्थन छ । यो अवस्थमा पौडेल निर्वाचित हुने पक्कापक्की जस्तै छ । निर्वाचनका लागि संघीय दुबै सदनमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता छन् ।
नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठनलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले बताएको छ ।
उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लागू हुने जनाइएको छ । निर्वाचन आयोगका अनुसार चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
प्रकाशित मिति २०७९ फागुन १७ गते बुधबार ०८:३५




