यू-१९ विश्वकपमा छनोट हुनका लागि नेपालले १९१ रन डिफेण्ड गर्नुपर्ने भएकाे छ ।
यसअघि शानदार खेल्दै आएकाे नेपालले निर्णायक खेलमा भने खराब सुरुवात गर्याे । नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । नेपालले १९ रनमै सुरुवाती ३ विकेट गुमाउँदा घरेलु टाेलीसमक्ष बलियाे लक्ष्य प्रस्तुत गर्न चुक्याे ।
ओपनर दिपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट भए ।अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए ।नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि विशाल विक्रम केसीले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तम थापा मगरले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाए ।
छैटौं विकेटका लागि विशालले मिलन बोहरासँग ५० रनको साझेदारी गरे । मिलन १० रन बनाएर आउट भए । हेमन्त धामीले १३ रन जोडे । सुबास भण्डारी २ रनमा आउट भए । दिपेश कँडेल १५ रन बनाए । यूएईका लागि ध्रुव पारासारले ३ तथा हरित सेट्टी, कप्तान आयान खानले २-२ विकेट लिए । हर्सिथ सेठ र अमर बदामीले समान १ विकेट लिए ।
नेपाल र यूएईले यसअघिका सबै चार खेल जितेको थियो । त्यसैले यो खेल फाइनल जस्तै छ । यस खेलको विजेता अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ ।
प्रकाशित मिति २०७९ फागुन १८ गते बिहीबार ०२:२७




