पोखरा
मौलिक संस्कृति भजन चुड्काको संरक्षण गर्दै पुस्तान्तरणका लागि पोखरामा बृहत ज्ञान महायज्ञसँगै राष्ट्रव्यापि खुला लोक भजन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले खुला भजन चुड्का प्रतियोगिता आयोजना गरेको हो ।
पोखराको प्रदर्शनी केन्द्रमा फागुन २५ देखि चैत २ गतेसम्म भजन प्रतियोगिता चल्नेछ । ‘लोक संगीतलाई बचाऊँ लोक भजन चुड्कामा भक्तजनलाई नचाऊँ’ नाराका साथ आयोजना गरिएको प्रतियोगिताले भजन चुड्काको ज्ञान पुस्तानतरण गर्ने लक्ष्य राखेको केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले बताए ।
‘अहिलेका हाम्रा नयाँ पुस्ताले भजनका आरती पनि गाउन सक्नुहुन्न । लोकगीत जति पनि गाउनुहुन्छ तर धारवाही भजन गाउन सक्दैनन्’, उनले भने, ‘गाउने बनाउनका लागि पनि हामीले यो कार्यक्रम गर्दछौं ।’ उनले प्रतियोगितमा नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो ‘भजन च्याम्पियन’ मा सहभागी ३२ समूह प्रतियोगिताबाटै छनोट गरिने जानकारी दिए । सबै भजनको अडियो भिडियो संकलन गरेर संग्रहालयमा राखिने अध्यक्ष प्रजापतिले बताए ।
पश्चिमा गीतसंगीतको प्रभावले नयाँ पुस्तामा लोक भजन चुड्काप्रति उतिसारो लगाव छैन । धार्मिक कार्यक्रम र सिमित पर्वहरुमा गाइने लोक भजन चुड्का लोेप हुने अवस्थामा पुगेको छ । प्रतियोगितामा प्रथम हुने समूहले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र सान्त्वना हुने समूहले क्रमशः ३१, २१ र ११ हजार रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट नृत्य, भाँकी, अनुशासन र भेषभुषतर्फ ७ हजार ५ रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
भजन प्रतियोगितामा देशभर १ सय बढी समूहले प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका केन्द्रीय महासचिव डा. तुलसीराम खनालले जानकारी दिए । वृहत ज्ञान महायज्ञ सहित देशैभरका भजन संस्कृतिलाई एउटै थलोबाट प्रर्दशन उनको दाबी छ ।
भजन चुड्कालाई लोकदोहोरीकै दर्जामा पु¥याउने लक्ष्य राखिएको छ । ३५ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता एवम ज्ञान महायज्ञबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको खनालले बताए । उनका अनुसार आम्दानीबाट पोखरामा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको केन्द्रीय कार्यालय भवन निर्माण गरिनेछ । महायज्ञमा चैतन्यकृष्णले कथा वाचन गर्नेछन् ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानले गत वर्ष पनि माघ १५ गतेदेखि २३ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भजन चुड्का प्रतियोगिता गरेको थियो । भजन चुड्कालाई बचाइराख्ने अभियानमा अग्रसर भएको प्रतिष्ठानले २०६८ सालदेखि काम गरिरहेको छ । अहिले देशभरका ४६ जिल्लामा र गण्डकीका ९ जिल्लामा प्रतिष्ठानले जिल्ला समिति गठन गरेर भजन चुड्का गाउने नाच्ने कलाकारहरुलाई संगठित गरेको छ ।
प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ११:१५




