२०८३ असोज २४ गते शनिबार

पाँचौं सृजना कपको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई

पाँचौं सृजना कपको उपाधि छात्रामा शान्त र छात्रमा ब्रम्हरुपालाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १९ गते शुक्रबार ०६:४९

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई  ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

पोखरा

पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् । पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो । पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ ।


छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ ।

छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो ।

छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीयलाई  ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने ।

छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए । छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ०६:४९
हजुरको प्रतिक्रिया