पोखरा
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले बिना पथप्रदर्शक (गाइड) पदयात्रामा जान नपाउने निर्णय भएपछि व्यवसायीहरुले फरक फरक धारणा राखिरहेका छन् । कसैले यो निर्णयको स्वागत गरेका छन् भने कतिपय व्यवसायीले निर्णय स्पष्ट नभएको बताइरहेका छन् ।
पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेको भनाइ छ । झट्ट हेर्दा बोर्डको यो निर्णय उपयुक्त देखिए पनि अझै स्पष्ट ब्याख्या नभएको पोखरेली व्यवसायीहरुको भनाइ छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बोर्डको निर्णय स्वागतयोग्य भएको तर केही आशंका र अस्पष्टता पनि रहेको बताए । कति मिटर उचाइ वा कहाँसम्म जानेलाई ट्रेकिङ भन्ने स्पष्ट नभएको उनको भनाइ थियो । २५ सय मिटरभन्दा माथि जाने पदयात्रीले अनिवार्य रुपमा गाइड लैजानुपर्ने माग पहिलेदेखि नै आफूहरुले राख्दै आएको बताउँदै पन्थीले अब सरकारको कार्यान्वय पक्षलाई हेनुपर्नेमा जोड दिए ।
बोर्डका पूर्व सदस्यसमेत रहेका पर्यटन व्यवसायी वासु त्रिपाठीले निर्णयको पहिले प्रस्टसँग व्याख्या हुनुपर्ने बताए । कति उचाईमा पुग्दा गाइड लैजानुपर्ने हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । आगमनको संख्या, पर्यटकको बसाई, पर्यटकबाट हुने आम्दानी र समुदायमा जाने फाइदाको आंकलन गरेर कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने त्रिपाठीले बताए ।
‘सबैसँग अध्ययन गरेर, वस्तुस्थिति हेरेर निर्णय गरिएको हो भने पहिले गाइड लैजानुपर्ने दूरी, उचाईको स्पष्ट ब्याख्या हुनुपर्छ । पर्यटन आवागमन, व्यवसायी र समुदाय तिनै पक्षलाई ध्यानमा राखेर कार्यान्वयनको स्पष्ट खाका हुनुपर्छ,’ त्रिपाठीले भने, ‘हचुवाको भरमा मात्र निर्णय भएको हो भने कार्यान्वयनमा जटिलताहरु धेरै हुन सक्छन् ।’
बोर्डको यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुने बोर्डले बताएको छ । पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा आवद्ध मजदुरको संयुक्त सङ्गठनको मागअनुरुप बोर्डले पदयात्रामा जाने पर्यटकले अनिवार्यरुपमा गाइड लाने व्यवस्था गरेको हो ।
नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार एक सय ४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । यस्तो संख्या सन् २०२२ मा १९ हजार चार सय २५ थियो ।
गण्डकी प्रदेशमा विश्वकै प्रख्यात पदयात्रामा पर्ने अन्नपूर्ण फेरोमा सबैभन्दा बढी विदेश पदयात्री आउने गरेका छन् । पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशत पदयात्रामा जाने व्यवसायीहरु बताउँछन् । पोखराका ट्रेकिङ व्यवसायीले यसअघि प्रदेश र केन्द्र सरकारलाई अनिवार्य गाइडको व्यवस्था गर्न माग गरेका थिए ।
प्रकाशित मिति २०७९ फागुन २१ गते आइतबार १०:०४




