पोखरा
आज मार्च ८ तारिख अर्थात ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विविध कार्यक्रम गरी विश्व भर मनाइँदैछ । नेपालमा पनि आज दिवसका अवसरमा विविध कार्यक्रम गरिँदैछ ।
अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो । जुनपछि संयुक्त राष्ट्र संघले मान्यता दियो । सन् १९०८ मा न्युयोर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि बीजारोपण भएको थियो । त्यसको १ वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको हो ।
पोखरामा पनि दिवसको अवसरमा विभिन्न संघ संस्थाले कार्यक्रम आयोजना गरेका छन् । महिला सिप विकास संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज पोखरामा हस्तकला प्रदर्शनी गर्दैछ । पोखरा सभागृहमा १५ वटा टेबुलमा हस्तकलाका सामग्री प्रदर्शनमा राखिने संस्थाले जनाएको छ ।
पोखरा महानगरपालिकाले पनि आज रयालीसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । पोखरा २७ तालचोकदेखि लेखनाथ उद्योग वाणिज्य संघको हलसम्म रयाली गरिने छ । उद्योग वाणिज्य संघको हलमा गृहिणी महिलाहरुको बीचमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरको सामाजिक विकास शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति २०७९ फागुन २४ गते बुधबार ०९:५४




