अनुसन्धानमा ल्याउन प्रशासनलाई आग्रह
पोखरा
मानिसलाई हेरेर र छोएरै जस्तोसुकै रोग पनि निको पार्ने भन्दै भ्रम छरेर एक व्यक्तिले ठगी धन्दा चलाएका छन् ।
पोखरा–१७ विरौटाको पावरहाउस रिपोर्टमा मंगलबार छोएर जस्तोसुकै रोग निको पार्ने भन्दै सीमान्त गुरु नामका एक व्यक्तिले १ हजार रुपैयाँ शुल्क उठाएर उपचार गराइरहेका थिए ।
कास्की र आसपासका जिल्लाबाट रोग निको पार्ने भन्दै जटिल खालका विरामीहरु पनि पोखरा आइपुगेका थिए ।
आफूलाई सीमान्त गुरु भन्ने व्यक्तिले मानिसहरुलाई भ्रम छरेर ठगी धन्दा चलाइरहेको थाहा पाएपछि प्रशासनलाई उनलाई रोकेको छ । तर, प्रक्राउ गरेर अनुसन्धानमा ल्याउन सचेत नागरिकहरुले प्रशासनलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल टिकटकको लाइभमार्फत विभिन्न जटिल रोग हेरेरै निको पारेको भन्दै पोखरामा छोएर रोग निको पार्ने भन्दै पोखरा ल्याइएको थियो ।
क्यान्सर, प्यारालाइसिस, होडजोर्नी, थाइराइडलगायत र कतिपय पहिचानसमेत नखुलेको बिमार लिएर सीमान्तकहाँ विरामीहरु र आफन्त पुगेका थिए ।
कान्छी गुरुङ नाम गरेकी एक महिलाले सीमान्त भगवानै भएको बताउँदै भीडलाईसमेत विश्वास दिलाउने कोसिस गर्दैै थिइन् ।
लोकदोहोरी गायक कुमार पुन पनि त्यहीँ बसेर सीमान्तलाई भगवानै भएको र आफू पनि उपचार गराउन पुगेको भ्रम छरिरहेका थिए ।
उनलाई पोखरा ल्याउन नेतृत्व पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका व्यवसायी भरत केसीले लिएका थिए ।
रसिदसमेत नदिने सीमान्तले आफूसँग अलौकिक शक्ति रहेको बताउँदै ठगी धन्दा चलाइहेका बेला जिल्ला प्रशासन कार्यालयले यसको सुइँको पाएर रोकेको छ ।
प्रशासनले सीमान्तलाई पोखरा ल्याउने भरत केसीलाई १ लाख २३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएर छोडेको छ ।
प्रशासनले भ्रम छर्ने गुरुलाई अनुसन्धानसमेत नगरी छोडेको भन्दै पोखरा–७ का राम बरालले आपत्ति जनाए । समाजमा भ्रम छरेर ठगी धन्दा चलाउनेलाई प्रहरीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीय विष्णु खड्काको जोड छ ।
स्कीका सहायक सिडिओ गुरुदत्त ढकालले मंगलबार सामान्य अनुसन्धान गरेर छोडे पनि फेरि बोलाउने बताए ।
मनोरोग विशेषज्ञ, डा. निर्मल लामिछानेले अहिलेसम्म कुनै पनि विज्ञानले मान्छेले हेरेर तथा छोएर निको हुने विधि पत्ता नलागेको बताए ।
सीमान्त नाम गरेर व्यक्तिले मानवीय संवेदनामा खेलेर पैसा कमाउन खोजेको डा. लामिछानेको भनाइ छ ।
प्रकाशित मिति २०७९ फागुन २४ गते बुधबार ०९:३४




