२०८३ असोज २४ गते शनिबार

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान, पौडेल र नेम्वाङ उम्मेदवार

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान, पौडेल र नेम्वाङ उम्मेदवार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २५ गते बिहीबार ०७:१२

अहिलेको समीकरण अनुसार राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित जस्तै छ ।

पाेखरा

देशको नयाँ राष्ट्रपति चयन गर्न आज मतदान हुँदैछ । मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय तयारी पूरा भएको हो । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतमदान हुनेछ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजे सम्म नतिजा आइसक्नेछ ।

नयाँ राष्ट्रपतिको लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भाग नलिने निर्णय गरेको छ । संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले चुनावमा भाग नलिने तर्क राप्रपाले गरेको छ । अहिलेको समीकरण अनुसार राष्ट्रपतिमा पौडेल निर्वाचित हुने निश्चित जस्तै छ ।

आज हुने मतदानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै २ मतदान केन्द्र बनाइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता छन् ।

मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ ।

निर्वाचनमा संघीय सांसदको १ मत बराबर ७९ र प्रदेशसभा सदस्यको १ मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सात जनाको कर्मचारीको टोली खटिएका छन् । निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसद काठमाडौं पुगिसकेका छन् ।

 

प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार ०७:१२
हजुरको प्रतिक्रिया