काठमाडौं
आइसिसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपाल अहिले ब्याटिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा पपुवान्युगिनी (पिएनजी) ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । खेल ९ बजेदेखि सुरु भएको हो ।
त्रिकोणात्मक सिरिजमा नेपालले यूएई र पपुवा न्युगिनिसँग समान २–२ खेल खेल्नेछ । फागुन २८ र चैत २ मा नेपालले यूएईसँग खेल्ने छ भने फागुन २९ पपुवा न्युगिनीसँग पुनः अर्को खेल खेल्नेछ ।
नेपालले युएई भ्रमणमा तीन जित निकाल्दै ६ अंक बटुल्न सफल भएको छ । पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने युएईले नेपालविरुद्ध ६८ रनको जित निकाल्यो। तेस्रो खेलमा नेपालले पपुवान्युगिनीलाई ३ विकेटले हराउँदै ६ अंक जोडेको हो।
नेपाली टिमले पछिल्ला ८ खेलमा ७ जित निकाल्न सफल भएको छ । अघिल्लो साता सम्पन्न स्कटल्याण्ड र नामिबियाविरुद्धको सिरिज क्लिनस्विप गर्दै नेपालले ८ अंक बटुलेको थियो । अब हुने सिरिजमा दुई खेलमा मात्र जित निकाले नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्ने छ ।
नेपाले सिरिज क्लिनस्विप गरेमा नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर्समा स्थान बनाउन सफल हुनेछ । नेपालले सिरिज क्लिनस्वीप गर्दै चार खेल जित्ने र युएईले दुई खेलमा मात्र जित निकाल्ने अवस्था आए नेपाल शीर्ष तीनमा रहने छ भने युएई शीर्ष पाँचमा रहे अमेरिकासँग नेट रनरेटमा भर पर्नु पर्नेछ।
प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार १०:०८




