२०८३ असोज २३ गते शुक्रबार

अन्नपूर्ण गाउँपालिका पहिलो, पोखरा महानगर पुछारमा

अन्नपूर्ण गाउँपालिका पहिलो, पोखरा महानगर पुछारमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०४:१४

कास्कीमा पोखरा महानगरसहित ५ स्थानीय तह छन् ।

पोखरा
जिल्ला समन्वय समिति कास्कीले चालु आर्थिक वर्षमा गरेको वित्तीय सुशासन जोखिम मूल्यांकनमा अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ । विभिन्न ११८ वटा सूचकका आधारमा गरिएको अध्ययनमा अन्नपूर्णले ७० अंक पाउँदै शीर्ष स्थान कायम गरेको हो ।

शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा पोखरा महानगर भने सबैभन्दा कम अंक पाउँदै पुछारमा परेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनमा पोखराले जम्मा ४३ अंक प्राप्त गरेको छ । कास्कीमा पोखरा महानगरसहित ५ स्थानीय तह छन् ।

अन्नपूर्ण पहिलो बन्दा रुपा गाउँपालिका ६४.५ अंकसहित दोस्रो, माछापुच्छ्रे गाउँपालिका ५४ अंकसहित तेस्रो र मादी गाउँपालिका ५३ अंकसहित चौंथो स्थानमा पर्न सफल रह्यो ।

जिल्ला समन्वय समिति प्रमुख लीलाधर पौडेलले नेपालमै पहिलो पटक औपचारिक रुपमा स्थानीय तहको वित्तीय सुशासन अध्ययन नतिजा सार्वजनिक गरिएको दाबी गरे । उनले चालु आर्थिक वर्षमा तय भएका कार्यक्रम र त्यसका कार्य प्रगतिलाई मूल्यांकनको मुख्य आधारका रुपमा लिइएको बताए ।

उनले कम अंक प्राप्त गरेका पालिकाले पनि वित्तीय सुशासनलाई कायम राख्दै सच्चिन जरुरी रहेको सुनाए ।

‘कुन पालिकाको कस्तो वित्तीय सुशासन भन्ने नतिजा सार्वजनिक भइसक्यो । कम अंक आएका पालिकाहरु सबै सच्चिनुपर्छ,’ जिसस प्रमुख पौडेलले भने, ‘कास्कीका सबै पालिकाहरुले आफ्नो कार्यसम्पादनको स्तर वृद्धिमा ध्यान दिनुपर्छ ।’

उनले वित्तीय सुशासन कायम गर्न जनप्रतिनिधिकोमात्रै नभए सबै राजनीतिक दल, कर्मचारी र नागरिकको पनि बराबर भूमिका हुने भएकाले गम्भीर भएर लाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०४:१४
हजुरको प्रतिक्रिया