२०८३ असोज २३ गते शुक्रबार

ताला नखुल्दा पीएन क्याम्पसमा स्ववियु चुनावको सम्भावना न्यून 

ताला नखुल्दा पीएन क्याम्पसमा स्ववियु चुनावको सम्भावना न्यून 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २७ गते शनिबार ०२:२४

क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं, अखिल क्रान्तिकारी ‘विप्लव’ र अखिल क्रान्तिकारी संयुक्तलगायत विद्यार्थी संगठनले बिहीबार निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । 

पोखरा 

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पस पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुने सम्भावना घटेको छ ।

क्याम्पसमा निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाताको नाम टुंगो नलाग्दै नामावली बाहिर ल्याएको भन्दै अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी छैटौं, अखिल क्रान्तिकारी ‘विप्लव’ र अखिल क्रान्तिकारी संयुक्तलगायत विद्यार्थी संगठनले बिहीबार निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए ।

तालाबन्दी गरेका संगठनले नाम सार्वजनिक गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राखेकोकाले निर्वाचनको प्रक्रिया अघि बढ्न नसकेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस अध्यक्ष विष्णु पोखरेलले बताए ।

आज बिहान निर्वाचन समिति, क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच ताला खोल्ने र चुनावलाई निरन्तरता दिने विषयमा सहमति गर्न वार्ता भएको थियो । तर, तालाबन्दी गरेका संगठनले नमानेपछि चुनाव हुने सम्भावना घटेर गएको छ । आज साँझसम्म मनोनयन दर्ता गर्ने समय छ ।

कास्कीमा एमाले र माओवादीनिकट विद्यार्थी संगठनबीच गठबन्धन गर्ने लिखित सहमति भइसकेको छ । त्यसैले अखिल क्रान्तिकारी अहिले ताला खोल्न सहमत भएको छ । अन्य तीन संगठन भने सहमत भएका छैनन् ।

निर्वाचन समिति र क्याम्पस प्रशासनले आफूहरुले छानबिन समितिबारे आन्तरिक छलफल गरेर के गर्ने भन्नेबारे जानकारी गराउने जवाफ विद्यार्थी संगठनलाई दिएको छ ।

प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ०२:२४
हजुरको प्रतिक्रिया