जसपाले आधिकारिक निर्णय भोलि गर्ने
काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । र, पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।
जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ । सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झा उम्मेदवार छिन् ।
शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई (महिला र पुरुष) उम्मेदवार गर्न अनुमति दिएको थियो । २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर निर्वाचन आयोगले पुरुष (रामचन्द्र पौडेल) राष्ट्रपति भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य उम्मेदवार हुनुपर्ने तर्क गरेपछि जसपा झस्कियो । जसपाले महिला र पुरुष दुवै उम्मेदवार बनाउन चाह्यो, जसमा नेताहरु सहमत भए । किनकी १२ फागुनमै नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले उपराष्ट्रपति जसपालाई दिने सहमति गरेका थिए ।

जसपाले प्रतिनिधिसभा संसदीय दलका नेता रामसहाय र राष्ट्रियसभा सदस्य प्रमिलालाई उम्मेदवार बनायो । रामसहायको उम्मेदवारीविरुद्ध एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए । तर निर्वाचन अधिकृतको कार्यालयले आइतबार रामसहायको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ ।
त्यसको भोलिपल्ट प्रमिला यादवले वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।
प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०१:०९




