बागलुङ
राष्ट्रपति रामचन्द्र पौडेलले संगै जेल जीवन बिताएका र जेलमा बस्दा सहयोग गर्नेहरुलाई पनि सोमबारको सपथमा निम्ता गरेका थिए । त्यसमध्येका एक हुन्, बागलुङ काठेखोला गाउँपालिका–६ का डिलप्रसाद सापकोटा । राष्ट्रपति रामचन्द्र पौडेल २०४६ सालमा बागलुङ कारागार चलान भएका थिए ।
पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा पार्टी बिस्तार विद्यार्थीको अधिवेशमा बागलुङ पुगेका रामचन्द्रलाई प्रहरीले पक्राउ गरेर जेल चलान गरेको थियो । पौडेल जेलमा हुँदा सापकोटाले दिनहुँ, दूध, मकै, घ्यूलगायत पुर्याउने काम गरेका थिए । सापकोटाले पौडेलका सूचना आदानप्रदानदेखि ओड्ने ओछ्याउनेसम्मको व्यवस्था गरेका थिए ।
करिब ६ महिना बागलुङ जेलमा सहयोग गरेका उनलाई पौडेलले सापकोटा बाजे नाम राखेका थिए । पौडेल राष्ट्रपतिको सपथमा तिनै सापकोटालाई निम्तो पठाएका थिए । कामको व्यवस्तो जान नपाएका सापकोटाले रामचन्द्र राष्ट्रपति बनेको खुसी व्यक्त गर्दै विवादरहित बन्न शुभकामना दिएका छन् ।

डिलप्रसाद सापकोटा
सापकोटाले सभामुख र पटक पटक मन्त्री हुँदै राष्ट्रपतिको पदसम्म पुगेकोमा शुभकामना दिँदै अब पार्टीभन्दा माथि उठ्न आग्रह गरेका छन् । पार्टी र स्वार्थभन्दा माथि उठेर सम्पूर्ण जनताको बन्न सापकोटाको पौडेललाई सुझाव छ । हिजो राजा फोलेर आज राष्ट्रपति बन्ने दिन आएको भन्दै सापकोटाले आफू पनि राजाजस्तो नबनेर जनताको साझा बन्न सापकोटाले आग्रह गरेका छन् ।
पार्टी राजनीतिक जीवनबाटै पुरानो व्यवस्था फालेर नयाँ व्यवस्थामा देशकै सर्वोच्च पदमा पुगेको खुसी व्यक्त गर्दै सापकोटाले विवादरहित रहन शुभकामना दिँदै एक दिन शितल निवास भेट्न आउने बताएका छन् ।
प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०२:५४




