चेन्नाइकाे सम्भावना सकियाे
पाेखरा । युएईमा जारि आईपीएलकाे याे सिजनमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स प्लेअफ पुग्ने पहिलो टिम बन्न सफल भएको छ । लिग अन्तर्गतकाे ४८ औं खेलमा बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बईले प्ले-अफमा आफूलाई सुरक्षित गरेको हो ।
अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्याे ।
सुर्यकुमार यादबले आईपीएल करियरकै व्यक्तिगत उच्च रन बनाउँदा मुम्बईले जित निकाल्न सफल रहयाे । उनले अविजित ७९ रन बनाए । सुर्यकुमारले ४३ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरे । मुम्बईका लागि इशान किशनले २५, क्विन्टन डीकले १८, हार्दिक पान्ड्याले १७, क्रुनाल पान्ड्याले १० तथा काइरन पोलार्डले अविजित ४ रन बनाए ।
बैंगलोरको बलिंगमा युजभेन्द्र चहल ( ४-०-३७-२ ) र मोहम्मद सिराज ( ३.१-०-२८-२ ) ले समान २ विकेट लिए भने क्रिस मोरिस ( ४-०-३६-१ ) ले १ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १६४ रनकाे सम्मानजनक स्काेर खडा गरेकाे थियो ।
बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सिजनमा चौथो अर्धशतक बनाउने क्रममा सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४५ बलमा १२ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर जोश फिलिपेले ३३, एबि डी भिल्लीयर्सले १५, गुरकिरात सिंहले अविजित १४, वासिंगटन सुन्दरले अविजित १० तथा बिराट कोहलीले ९ रन बनाए ।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र १४ रन खर्चिए । ट्रेन्ट बोल्ट ( ४-०-४०-१ ), राहुल चाहर ( ४-०-४३-१ ) , काइरन पोलार्ड ( १-०-५-१ ) ले समान १ विकेट लिए ।

जितपछि मुम्बई १२ खेलमा ८ जित र ४ हारको साथ १६ अंक बटुल्दै शिर्ष स्थानमा कायमै रहेको छ । यो संगै लिगको प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बनेको छ । चेन्नाई सुपर किंग्स प्लेअफ रेसबाट बाहिरिएको छ भने अन्य टिमको प्लेअफ सम्भावना अझै जिवितै रहेको छ ।
हारपछि बैंगलोर १२ खेलमा ७ जित र ५ हार पछि १४ अंक सहित दोश्रो स्थानमा यथावत रहेको छ । समान अंक रहे पनि दिल्ली नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ । बैंगलोरले प्ले अफ पुग्न बाँकी २ खेल मध्ये १ खेलमा जित दर्ता गर्नुपर्नेछ ।
बैंगलोरले आगामी खेल शनिवार हैदरावाद बिरुद्ध तथा मुम्बईले शनिवार नै दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ । लिग अन्तर्गत बिहिबार चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति २०७७ कात्तिक १३ गते बिहीबार ०७:१०




