२०८३ साउन २१ गते बिहीबार

गण्डकीसहित लुम्बिनी र कोशीमा नयाँ सरकार गठनको तयारी

गण्डकीसहित लुम्बिनी र कोशीमा नयाँ सरकार गठनको तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ४ गते शनिबार ०९:०४

केन्द्रमा सरकार पुनर्गठन भइरहँदा केही प्रदेशमा सरकार परिवर्तन र केहीमा पुनर्गठन हुने निश्चित छ ।

मुख्यमन्त्री र मन्त्री बन्न सांसदको दौडधुप

पोखरा

गत मंसिर ४ गते अघिको गठबन्धन टुटेर बनेको एमाले, माओवादीसहितका दलहरुको गठबन्धनबाट केन्द्रदेखि ७ वटै प्रदेशहरुमा नयाँ सरकार बने । सरकार बनेको २ महिनामा केन्द्रमा सत्ता समीकरण फेरियो । फेरिएको नयाँ राजनीतिक समीकरणले गठन भएको २ महिनामै केन्द्रदेखि प्रदेश सरकार पुनर्गठन र गठनको संघारमा पुगेका छन् ।

उपराष्ट्रपतिको चुनाव हिजो सकिएको छ भने त्यस लगत्तै प्रदेश सरकार गठन र पुनर्गठनमा नयाँ गठबन्धनका राजनीतिक दलहरु सक्रिय भएका छन् । उपराष्ट्रपति निर्वाचनमा सहभागी हुन काठमाडौं पुगेका प्रदेशसभाका सांसदहरूले मुख्यमन्त्री र मन्त्री बन्नका लागि दौडधुप तीव्र पारेका छन् । उपराष्ट्रपतिको चुनाव सकिएकाले केन्द्रदेखि प्रदेशमा सरकार परिर्वतन र पुनर्गठन हुने नेताहरुले बताएका छन् ।

पुस १० को सहमति अनुसार सरकारलाई साथ दिएका राप्रपा र एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिए लगत्तै ४/५ दिनमा केन्द्र सरकारले पूर्णता पाउने प्रचण्डले बताइसकेका छन् । केन्द्रमा सरकार पुनर्गठन भइरहँदा केही प्रदेशमा सरकार परिवर्तन र केहीमा पुनर्गठन हुने निश्चित छ ।

एमालेका मुख्यमन्त्री रहेका गण्डकीसहित लुम्बिनी र काेशी प्रदेशमा नयाँ सरकार गठन हुने र अन्य प्रदेशमा सरकार पुनर्गठन हुने नेताहरुको भनाइ छ । नयाँ सत्ता समीकरणले गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकार संकटमा परेको छ । सरकारमा माओवादी र राप्रपासमेत सहभागी छन् । केन्द्रबाट राप्रपा बाहिरिएपनि गण्डकीमा समर्थन फिर्ता लिएको छैन र राप्रपा सरकारमै सामेल छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले सरकारलाई दिएको समर्थन फिर्ता बारे अहिलेसम्म कुनै निर्णय नभएको बताए । माओवादीका नेताहरुका अनुसार केही दिनमा त्यस बारे निर्णय हुनेछ ।

एमालेले आगामी बजेटसम्म यही गठबन्धनलाई लैजानका लागि छलफल अघि बढाए पनि टुंगोमा पुग्न नसकेको नेताहरुको भनाइ छ । नयाँ समीकरण अनुसार गण्डकी प्रदेशमा सरकारको नेतृत्व पाउनेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री बन्ने वातावरण मिलाउन आफ्नो पार्टीका साथै माओवादी नेतृत्वसँग पनि भेटघाट थालेकाे स्राेतकाे भनाइ छ।

एमालेको नेतृत्व रहेका प्रदेशमा सरकारको नेतृत्व लिने गरी कांग्रेस र माओवादीले आ–आफ्नो दलका शीर्ष नेतालाई दबाब दिएका छन् भने मन्त्रीका आकांक्षी सांसदले पनि नेताहरूसँगको भेटघाट बाक्लो बनाएका छन् । नयाँ समीकरणले सुदूरपश्चिम बाहेक ६ प्रदेशमा कांग्रेस सत्तामा पुग्ने भएको छ ।

 

प्रकाशित मिति २०७९ चैत ४ गते शनिबार ०९:०४
हजुरको प्रतिक्रिया