२०८३ साउन २१ गते बिहीबार

नगरबसको दादागिरीः लापरवाही कुदाउँछन्, ज्यानै लिन्छन् !

नगरबसको दादागिरीः लापरवाही कुदाउँछन्, ज्यानै लिन्छन् !

विकास रोकामगर

@bikashh1997

२०७९ चैत ७ गते मंगलबार ११:४३

पछिल्लो समय पोखरामा ज्यानै लिने गरी भएका यी केवल उदारहणमात्रै हुन् । पोखरामा नगरबससहित अन्य सार्वजनिक यातायाताले लापरवाही गर्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।

२ वर्षमा २४८ सवारी दुर्घटना, ८४ जनाको ज्यान गयो

पोखरा

फागुन ७ गते पोखराको बेगनास–पोखरा सडकखण्डमा नगर बस दुर्घटनामा हुँदा त्यसमा सवार चालकदलसहित ४७ जना घाइते भए । दुर्घटना पोखरा युनिभर्सिटीमा दीक्षान्त समारोहमा सहभागी भएर आइरहेका विद्यार्थी परेका थिए ।

बेगनास–पोखरा सडकखण्डमा नगर बस दुर्घटना

दुर्घटनामा घाइते विद्यार्थीका अनुसार चालकले बस चलाउँदाचलाउँदै निदाएपछि दुर्घटनामा परेको थियो । अनुसन्धानमा पनि चालकको गम्भीर लापरवाही भएको खुलेको थियो । चैत ३ गते पोखरा चिप्लेढुंगामा नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भयो । बस चालक सागर क्षेत्री अहिले प्रहरी नियन्त्रणमा छन् । माघ २६ गते पोखरा बसपार्क क्षेत्रमै बसले ठक्कर दिँदा २७ वर्षीया रेजिना आचार्यले ज्यान गुमाउन पुगिन् ।

पछिल्लो समय पोखरामा ज्यानै लिने गरी भएका यी केवल उदारहणमात्रै हुन् । पोखरामा नगरबससहित अन्य सार्वजनिक यातायाताले लापरवाही गर्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ । चैत ३ गतेमात्रै चिप्लेढुंगामा स्कुटरमा सवार युवतीको ज्यानै जाने गरी नगर बसले ठक्कर दिएपछि अहिले नगर बसको दादागिरीप्रति व्यापक आलोचना भइरहेको छ ।

पोखरा महानगरले नगर बसमा यात्रु ओराल्न र चढाउन निश्चित ठाउँ तोकेको छ । तर, अधिकांश नगर बसले त्यसको पालना गरेका छैनन् । आफूखुसी मनोमानी ढंगले यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् ।

नगर बसहरु आवश्यकताभन्दा बढी तीव्र गतिमा हिँड्ने र एकले अर्कालाई उछिन्ने अघोषित प्रतिस्पर्धाजस्तै छ । जसको प्रत्यक्ष मारमा साना सवारी चालक र पैदलयात्रु पर्ने गरेका छन् । सार्वजनिक यातायात त्यसमा पनि नगरबसको लापरवाहीका कारण बाटो दिनदिनै असुरक्षित बन्दै गइरहेको पैदलयात्रीको गुनासो छ । ‘सार्वजनिक सवारीसाधन त्यसमाथि यो नगरबसहरु यति कम्पिटिसनमा चल्छन् नि ! कहाँ मान्छे ओराल्ने, कहाँ मान्छे चढाउने भन्नेमा पनि लापरवाही गर्छन्,’ प्रकाश बज्रचार्य भन्छन्, ‘ट्राफिक नियमहरु छ, तर, त्यो दस्तावेजहरुमा मात्रै भयो । कसैले पनि कार्यान्वयन गर्न सकिराखेको छैन । यहाँ ढुक्कै हिँड्न सकिने स्थिति छैन ।’

जिल्ला ट्राफिक प्रहरीका अनुसार पोखरामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै पोखरामा १०५ वटा सवारी दुर्घटना भएका छन् । निजी जिपकार १९ वटा दुर्घटना हुँदा ११ वटा माइक्रो तथा बस नै दुर्घटनामा परेका छन् । सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २ वर्षमा २४८ सवारी दुर्घटनामा परी ८४ जनाको ज्यान गएको छ ।

शिवप्रसाद पाठक, सूचना अधिकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनाबाट २९ जनाको ज्यान गएको छ । जसमा २२ जना पुरुष, ५ जना महिला र २ जना बालबालिका छन् । अघिल्लो आर्थिक वर्षमा सडक दुर्घटनाकै कारण ५५ जनाले ज्यान गुमाएका थिए ।

‘एकले अर्कालाई उछिन्ने, अत्याधिक तीव्र गतिमा सवारी साधन चलाउने गर्दा नै बढी दुर्घटना भएको देखिन्छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी ४४ वटा दुर्घटना तीव्रगतिका कारण भएको छ भने १२ वटा मापसेले गर्दा,’ पाठक भन्छन्, ‘पोखराको हकमा सबैभन्दा बढी हेम्जा, मालेपाटन र पृथ्वीराजमार्गमा दुर्घटना भएको देखिन्छ ।’ नगर बस लापरवाहीका कारण हुने सानातिना दुर्घटनाको तथ्यांक ट्राफिक प्रहरीले राखेकै छैन ।

पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, बिन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायतले नगर बस तथा माइक्रो चलाउँदै आएका छन् । पोखरामा सबैभन्दा धेरै नगर बस÷माइक्रो पोखरा यातायात प्रालिले चलाउँदै आएको छ । पोखरा यातायात प्रालिमार्फत अहिले ३ सय ७८ वटा बस-माइक्रो पोखरामा चल्छन् । विन्ध्यवासिनीका बस, माइक्रोसमेत अहिले पोखरा यातायातमार्फत नै चल्दै आएका छन् ।

नगर बस, माइक्रो चलाउँदै आएका यातायात व्यवसायी भने चालकका कारण नभई सडक र पार्किङको उचित व्यवस्थापन नहुँदा दुर्घटना बढेको भन्दै पन्छिन्छन् । सडकमा निजी सवारी साधनको चाप बढेको तर, सडकको अवस्था सुधार नहुँदा दुर्घटनाको जोखिम बढेको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ बताउँछन् ।

देउप्रसाद गुरुङ, अध्यक्ष, पोखरा यातायात प्रालि

गुरुङ पोखराको यातायात सुधार्न राज्य पनि गम्भीर नभएको आरोप लगाउँछन् । ‘पोखरामा गाडीहरु धेरै भए, पार्किङहरु छैन । अहिले हामी यातायात व्यवसायीको बाध्यता बाटोमै राखेर गाडी चलाउनु परेको छ,’ भन्छन्, ‘हामीले राज्यलाई वर्षमा चानचुन ८० लाख जति कर तिर्छौं । तर, राज्यले हेरेन । हामी आफैं मर्माहित छौं ।’ गुरुङ पछिल्लो समय पोखरामा नगर बस दुर्घटना बढेको स्वीकार्र्दै आफूहरुले चालक तथा सहचालक सचेतना कार्यक्रम पनि चलाइराखेको सुनाउँछन् । तर, आफूहरुले तयार बनाएका यातायात मजदुर लामो समय नटिक्ने हुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

‘यातायात मजदुरहरुसँग पनि कति पटक बसियो, नबसेको होइन । एक पटक ल्याएर प्रशिक्षण दियो, ऊ (चालक) गइहाल्छ फेरि अर्को आउँछ,’ गुरुङले बाध्यता सुनाए, ‘तर, सबै चालक, सहचालक नराम्रा भने होइनन्, केहीकेहीले गर्दा बदनाम भएको हो ।’

प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ११:४३
हजुरको प्रतिक्रिया