स्याङ्जा
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–३ स्थित बाडखोलामा रहेको नेपाल पेट्रोल्युब प्रालिको पेट्रोल पम्पलाई झुक्याइ मिसावटयुक्त पेट्रोल बिक्री गरेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कारबाही गरेको छ ।
बाडखोलाको पेट्रोल्युब पम्पबाट वितरित पेट्रोलमा मिसावट भएको कारण सवारीका साधनमा समस्या देखिएको भन्दै गत पुसमा मोटरसाइकल र टेम्पो चालकहरुले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी गरेका थिए ।
उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तत्कालीन प्रजिअ गंगाबहादुर क्षेत्रीसहित अन्य प्राविधिक टोलीले उक्त पेट्रोल पम्पलाई पुस २७ गते शील गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयमा उक्त पम्पको पेट्रोल ल्याब परीक्षणका लागि पठाइएकोमा परीक्षणमा उक्त पम्पको पेट्रोलमा मिसावट देखिएको पुष्टी भएको थियो ।

सोही आधारमा जिल्ला प्रशासन कार्यालयले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार झुक्याइ बिक्री वितरण गरेको कसुरमा फागुन २९ गते उक्त पम्पका सञ्चालकहरु र कर्मचारीलाई कारबाहीको फैसला गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले चार जना सञ्चालकहरुलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार क्षतिपूर्ति कोषमा जम्मा गर्ने समेत गरि जम्मा ८ लाख ५२ हजार ८०० जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
पुस २७ मा शिल्ड भएको उक्त पम्पमा बाँकी रहेको मिसावटयुक्त १९१० लिटर पेट्रोल मंगलबार जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ ।
प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०८:२९




