पोखरा
रुपन्देहीको सालझन्डीमा ७ वर्षअघि सानो लगानीमा खुलेको होटल पौवाले पोखरामा बुधबारदेखि ११ औं शाखा सञ्चालनमा ल्याएको छ । देशका पाँच वटै प्रदेशमा शाखा विस्तार गर्दै लगिरहेको पौवाले पोखरामा १० करोड लगानीमा नयाँ शाखा विस्तार गरेको हो ।
पूर्ण रुपमा नेपाली हस्पिटालिटीसहित होटल पौवाले सेवा दिँदै आइरहेको होटलका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए । होटल सुरुआतको अवसरमा चैत १०, ११ र १२ गते ‘पौवा स्वादोत्सव’ मनाउने जानकारी उनले दिए ।
त्यसअवसरमा गजल गायक थानेश्वर गौतमले गजल गायन गर्नेछन् ।
उद्घाटनको अवसरमा देशैभर जहाँ पौवाका शाखा छन्, त्यही ठाउँ विशेष परिकार पाहुनालाई चखाउने पौवा ग्रुपले जानकारी दिएको छ ।
‘हामीले धनगढीको राना थारुको परिकार, पाल्पा र गुल्मीको चुकौनी, जुम्लाको मार्सीको चामलको स्वाद चखाउँदैछौं,’ पौवा ग्रुपका शरण कर्मचार्यले भने, ‘त्यसबाहेक अन्य ठाउँमा पनि हामी जहाँजहाँ छौं, त्यर्हीको स्वाद चखाउँदैछौं ।’
पहिलो पटक सालझण्डी खुलेको होटल पौवा हाल बन्द रहे पनि भैरहवा, बुटवल, कपिलवस्तु, गोरुसिंगे, दाङको भालुबाङ, लमही र घोराही, जुम्ला, पाल्पा, गुल्मी, धनगढीमा शाखा विस्तार गरिसकेको छ । ‘अब केही समयपछि नै काठमाडौं र नेपालगञ्जमा पनि नयाँ शाखा विस्तार गर्ने तयारीमा छौं,’ उनले भने ।
‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ,’ प्रवन्ध निर्देशक ज्ञवालीले भने, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्नसके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने लागेरै पोखरा प्रवेश गरेका हौं ।’
११ औं शाखाको रुपमा पोखरामा सुन्दर गार्डेनसहित सुपर डिलक्स र मिनी स्विट गरी ३९ वटा सुविधासम्पन्न कोठा, दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेको र त्यसमा एकै पटक एक हजार जना बढीको उपस्थितिमा सभा, सम्मेलन गर्न सकिने पौवा ग्रुपक ब्रान्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति २०७९ चैत ८ गते बुधबार ०१:५२




