२०८३ असोज २४ गते शनिबार

गण्डकी सरकारबाट माओवादी आज बाहिरिने, ११ बजे बैठक बस्दै

गण्डकी सरकारबाट माओवादी आज बाहिरिने, ११ बजे बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०७:३२

नयाँ सरकार बन्दा मुख्यमन्त्रीमा दुबै पार्टीले दाबी गरेका छन् । सम्भवत वैशाखको पहिलो हप्ता भित्र गण्डकीमा नयाँ सरकार बन्नेछ ।

पोखरा

गत फागुन १२ गते केन्द्रमा बनेको नयाँ समीकरण अनुसार नेकपा माओवादी केन्द्र एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । गत पुस १० को एमाले—माओवादी लगायतका दलको गठबन्धनबाट बनेको एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारबाट माओवादी आज बाहिरिन लागेको हो । फागुन १२ गते नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरुको नयाँ गठबन्धन बनेपछि अधिकारी नेतृत्वको सरकार संकटमा परेको हो ।

नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलको आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादीले बताएको छ । संसदीय दलको बैठकको निर्णय अनुसार अधिकारी नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले आज नै राजीनामा दिनेछन् । अधिकारी नेतृत्वको सरकारमा माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको बैठक बस्नका लागि कास्की बाहिर रहेको सबै सांसदलाई हिजो नै पोखरा आउन भनेको थियो ।

‘आज ११ बजेलाई संसदीय दलको बैठक बोलाइएको छ,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने,‘ पार्टीको निर्देशन अनुसार दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नेछ ।’ चुमानका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता बारे संसद सचिवालयलाई आज नै जानकारी गराउने र दुबै जना मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी छ ।

केन्द्रमा बनेको नयाँ समीकरण अनुसार नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन र सरकारबाट बाहिरिन बिहीबार चुमानलाई निर्देशन दिएका थिए । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धरापमा परेको हो । मुख्यमन्त्री खगराज अधिकारीलाई माओवादीले दिएको समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्दछ ।

सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिनु पर्दछ भने विश्वास मत नपाए सरकार ढल्छ । माओवादीले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर गण्डकीमा नयाँ सरकार बन्नेछ । नयाँ सरकार बन्दा मुख्यमन्त्रीमा दुबै पार्टीले दाबी गरेका छन् । सम्भवत वैशाखको पहिलो हप्ता भित्र गण्डकीमा नयाँ सरकार बन्नेछ ।

प्रधानमन्त्री प्रचण्डले गण्डकीमा सरकारको नेतृत्व आलोपालो हुने यसअघि नै बताइसकेका छन् । गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको मुख्यमन्त्रीमा दाबी छ । गण्डकीमा नेपाली कांग्रेसका २७ र माओवादीका ८ जना सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेशमा नेपाली कांग्रेस र माओवादी मिल्दा सरकार गठनको लागि सहज बहुमत पुग्नेछ ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०७:३२

हजुरको प्रतिक्रिया