२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा माओवादी सरकारबाट बाहिरियो, दुई मन्त्रीले दिए राजीनामा

गण्डकीमा माओवादी सरकारबाट बाहिरियो, दुई मन्त्रीले दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १० गते शुक्रबार ०५:४३

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री अधिकारी अल्पमतमा

पोखरा 

गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीले राजीनामा दिएका हुन् । आजै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि अब एक महिनाभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३० जना सांसद चाहिन्छ ।

तर, माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीको पक्षमा एमाले र राप्रपाका गरेर २४ जनामात्र सांसद छन् ।

राप्रपाले पनि १३ फागुनमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णय भए पनि पछि पार्टी नेतृत्वले एमालेले नेतृत्व गरेको प्रदेशमा तत्काल फिर्ता नलिने निर्देशन दिएपछि राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

प्रकाशित मिति २०७९ चैत १० गते शुक्रबार ०५:४३
हजुरको प्रतिक्रिया