जलवायु परिवर्तनले पु¥याएको असर एक्याप र सरकारलाई ध्यानाकर्षण गराउने
पोखरा
कास्कीको माछापुच्छ्रे गाउँपालिकाले जलवायु परिवर्तनले गर्दा हिमाली भेगका स्थानीयको जनजीवन प्रभावित बन्दै गएको भन्दै अन्नपूर्ण संरक्षण समिति र नेपाल सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।
शनिबार ३ हजार २९० मिटर उचाइमा रहेको खुमैंडाँडामा बसेको कार्यपालिकाको १६ औं बैठकले एक्याप र नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
हिमालमा हिउँ नपर्दा प्राकृतिक विपत्तिमात्रै होइन, हिमालमा निर्भर स्थानीयको जनजीवनै प्रभावित बन्दै गइरहेको पालिका प्रवक्ता गणेश आचार्यले जानकारी दिए ।
‘जलवायु परिवर्तनले गर्दा हिमालहरु कालापत्थर बन्दै गइरहेका छन् । यो गम्भीर विषय हो । यस विषयमा हामीले एक्याप र सरकारलाई ध्यानाकर्षण गराउँछौं,’ आचार्यले भने, ‘एक्यापले जम्मै मेरो हो भन्छ केही गर्न दिँदैन । तर, संरक्षण गर्नुको साटो झन् बिगार्दै लगेको छ ।’
जलवायू परिवर्तनले पु¥याइरहेको असर र कार्बन उत्सर्जन कम गरेवापत नेपालले पाउने अनुदान माछापुच्छ«े गाउँपालिकाले पनि पाउनुपर्ने प्रस्ताव वडा ८ का वडाध्यक्ष रामगुरुङले बैठकमा प्रस्ताव राखेका थिए । ‘हिमाल रहे पो हाम्रो जीवन रहन्छ । पर्यटन रहन्छ । यसलाई बचाउनुपर्छ कि पर्दैन ?’ बैठकमा उनले भनेका थिए ।
गाउँपालिकाको नाम कुमारी हिमालले परिचित माछापुच्छ«े हिमालबाटै राखिएको छ । चैत मध्य भइसक्दासमेत माछापुच्छ«े पूर्ण रुपमा सेतो हुन सकेको छैन भने जलवायु परिवर्तनले नै पहिलेजस्तो गँरास लगायत फूलहरु पनि राम्रोसँग फुल्न नसकेको पालिकाको भनाइ छ ।
त्यस्तै कार्यपालिका बैठकले सरीपाखा–खुमै पदमार्गलाई माछापुच्छ«ेको नयाँ पर्यटकीय पदमार्गका रुपमा अगाडि बढाउने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए ।
‘खुमैंलाई पर्यटकीय गन्तव्यसँगै करको दायरामा कसरी ल्याउन सकिन्छ, कसरी यहाँको विकास गर्न सकिन्छ त्यसबारे अध्ययन गर्ने निर्णय भएको छ,’ उनले भने ।
माछापुच्छ«े वडा नं. १ र ९ को बीचमा रहेको कोर्चाङ (३६९० मि.) को सीमा विवाद विषय पनि कार्यपालिका बैठकमा उठेको थियो । ‘माछापुच्छ«े मोडल ट्रेक र ग्रेट माछापुच्छ«े ट्रेल’ अन्तर्गत पर्ने कोर्चाङमा वडा १ र ९ वडाबीच सीमा विवाद रहँदै आएको छ ।
पोखरादेखि छोटो दूरी र समयमै हिउँको मजा लिन पाइने भएपछि पछिल्लो समय सामाजिक सञ्जालमा कोर्चाङ चर्चित छ ।
‘भौगोलिक रुपमा एउटा टेरेटोरीमा पर्छ, त्यो फरक पाटो हो । तर, यो सरकारी जग्गा नै हो । यो नेपालकै जमीन हो, आफ्नै जमीन हो,’ प्रवक्ता आचार्यले भने, ‘तेरोमेरो भन्दा पनि कोर्चाङको फाइदा दुवै वडाले संयुक्त रुपमा लिनुपर्छ, यसमा विवाद गर्नुहुँदैन भन्ने विषयमा कुरा भएको छ ।’
त्यस्तै, कार्यपालिका बैठकले गाउँका सामुदायिक विद्यालयलाई मर्ज गर्ने निर्णय गरेको छ । विद्यार्थीभन्दा शिक्षक धेरै हुने र त्यसले प्रतिफल पनि नदिएकाले संयुक्त रुपमा गाभेर शिक्षाको स्तरोन्नति गर्ने उद्धेश्य राखेको पालिकाले जानकारी दिएको छ ।
‘सरकारीभन्दा निजी विद्यालयले प्रगति गरिरहेका छन् । ४ जना विद्यार्थी भएको ठाउँमा ५ जना शिक्षक पनि छन् । अब त्यस्तो हुनुहुँदैन भनेर शिक्षा शाखाले प्रतिवेदन कार्यपालिकामा बुझाएको छ,’ प्रवक्ता आचार्यले भने, ‘आउँदो शैक्षिक वर्षदेखि के गर्न सकिन्छ फेरि अध्ययन गर्ने निर्णय गरेका छौं ।’
पालिका अध्यक्ष मीनबहादुर गुरुङले खुमैडाँडाको पर्यटकीय प्रचारप्रसारसँगै सम्भाव्यता अध्ययनका लागि खुमैडाँडामा कार्यपालिका बैठक राखेको जानकारी दिए । ‘बैठकबाट पालिको यो राम्रो ठाउँमा रहेको खुमैडाँडाको पनि प्रचारप्रसार होस् भनेर राखिएको हो,’ उनले भने ।
प्रकाशित मिति २०७९ चैत १२ गते आइतबार ०६:२१




