२०८३ असोज २३ गते शुक्रबार

‘नाटक पढ्ने अवधारणाको विकास हुनु जरुरी छ’

‘नाटक पढ्ने अवधारणाको विकास हुनु जरुरी छ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १३ गते सोमबार ०३:०१

विश्व रङ्गमञ्च दिवसको अवसरमा पोखरामा प्रेस क्लब गण्डकीले आयोजना गरेको कोभिड पछि पोखराको रङ्गमञ्च र अबको बाटो विषयक परिचर्चा कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।

पोखरा 

नाटक पढ्ने अवधारणाको विकास नभएसम्म रंगमञ्च उभो नलाग्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विश्व रङ्गमञ्च दिवसको अवसरमा पोखरामा प्रेस क्लब गण्डकीले आयोजना गरेको कोभिड पछि पोखराको रङ्गमञ्च र अबको बाटो विषयक परिचर्चा कार्यक्रममा वक्ताले यस्तो बताएका हुन् ।

पोखरा थिएटरका संचालक परिवर्तनले नाटक पढ्न जरुरी रहेको उल्लेख गरे । कोभिडका समयमा थला परेको नाट्य क्षेत्र अहिले तङ्गरिएको भनाई उनको छ । ‘कोभिड पछि पोखरामा नाटकको लहर आएको छ । एक पछि अर्को नाटक मञ्चन भइरहेको छ’, उनले भने । परिवर्तनले रङ्गकर्मी दक्ष हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले रङ्गमञ्चका लागि राज्यबाट बजेट विनियोजन भएता पनि उचित प्रयोग गर्न नसक्दा समस्या आएको बताए । राज्यसँग माग्ने मात्र काम गर्नुभन्दा पनि कलाकार लगनशिल हुन आवश्यक रहेको भनाई उनको छ ।

इन्द्रेणी थिएटरका निर्देशक एवम् लेखक केदारनाथ पौडेलले एकदुई संस्थाले मात्र पोखराको रङ्गमञ्चलाई माथि उठाउन नसक्ने बताए ।सरकारको झन्झटिलो नीतिले गर्दा कलाकर्मीले दुख पाइरहेको र सहज नीति बनाउन सरकारलाई उनले आग्रह गरेका छन् ।

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले पोखरा महानगर र प्रज्ञा प्रतिष्ठान बीच समन्वयमा नै समस्या देखिएको बताए । ‘पोखरा महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानलाई हेर्ने नजर फरक छ । बजेट विनियोजन भएता पनि त्यसको सही कार्यान्वयन गर्न नसक्दा समस्या खेप्नुपरेको छ । कला क्षेत्रका लागि छुट्टाइएका बजेटको भूक्तानी समयमा हुन सकिरहेको छैन’,उनले भने ।

समस्याका बाबजुत पनि पोखरा प्रज्ञा प्रतिष्ठान पोखरा महानगरपालिका भित्र हुने कला क्षेत्रको संरक्षणमा लागि परेको अभिव्यक्ति उनको छ । गुरुङ चलचित्रकी निर्देशक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ जसमाया गुरुङले पछिल्लो समय पोखरामा नाटक हेर्ने बानीको विकास भइरहेको बताइन् । उनले यसको विस्तारका लागि सबै संघसंस्था समन्वय भएर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले सामाजिक क्षेत्रमा आएका विविध विषयलाई उठान गर्ने गरी प्रेस क्लब गण्डकीको स्थापना गरिएको जानकारी गराए । साझा मञ्चको अवधारणालाई आत्मसात् गर्दै आफुहरु अगाडि बढेको अभिव्यक्ति उनको छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण प्रेस क्लब गण्डकीका उपाध्यक्ष पत्रकार राजाराम पौडेलले गरेका थिए भने संचालन सचिव गौरव त्रिपाठीले गरेका थिए ।

 

प्रकाशित मिति २०७९ चैत १३ गते सोमबार ०३:०१
हजुरको प्रतिक्रिया