पुरस्कार बैशाख १६ गते पोखरामा अर्पण गरिने
पोखरा
अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको हो ।

साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित परिवारका अध्यक्ष उपेन्द्र पौडेल र सचिव चैतन्य अधिकारी पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । सोहि सिफारिसलाई परिवारको बैठकले पारित गरेको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
प्रत्येक दुई बर्षमा अर्पण गरिने पुरस्कारको राशी दुर्ईलाख रुपैयाँ नगदसहित दोषल्ला र सम्मानपत्र रहेको छ । पुरस्कार यहि बैशाख १६ गते पोखरामा अर्पण गरिने जनाएको छ । नेपाली गीत, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिनेमध्ये एक जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने पुरस्कार स्थापनाकर्ता तथा पुरस्कार छनौट समितिका संयोजक सरुभक्तले बताएका छन् ।

पुरस्कृत खरेल ६ दशकदेखि अनवरत रुपमा नेपाली गीत लेखनको क्षेत्रमा क्रियाशिल छन् । वि.स १९९५ साल माघ २७ गते कार्भेपलाञ्चोकको खरेल चोकमा जन्मिएका खरेलका ‘ए दूरका सितारा(२०१४), के हो तिम्रो नाउँ (२०२०), , मेरी पारु (२०२२), , प्रियतमा (२०३६) प्रकाशित छन् । खरेलले एक सय भन्दा बढी चलचित्रमा गीत लेखेका छन् । उनी २०२०, २०२२, २०२६ र २०२८ मा रेडियो नेपालको सर्वोत्तम गीतकारका रुपमा पुरस्कृत भईसकेका छन् ।
खरेल शाही नेपाली चलचित्र संस्थानमा २०४३ देखि २०५० सम्म नायब महाप्रबन्धक बनेका थिए भने श्रीरत्न रेकर्डिङ संस्थान, संगीत प्रवद्र्धन समिति, केन्द्रीय चलचित्र जाँच समितिलगायतमा सञ्चालनक समिति सदस्य भईसकेका छन् ।
सरकार प्रमुखले प्रदान गर्ने विभिन्न विभूषणसहित पाँच दर्जन बढी सम्मान र अभिनन्दनबाट खरेल अभिनन्दित भईसकेका छन् । राष्ट्रगानका संगीत सर्जक अम्बर गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो ।
प्रकाशित मिति २०७९ चैत १५ गते बुधबार ०७:०५



