१० हजार किलो फोहोर संकलन गर्ने
पोखरा
नेपाली सेनाले अन्नपूर्ण हिमालको सरसफाई गर्ने भएको छ । सेनाले हिमालबाट १० हजार किलो फोहोर संकलन गर्नेछ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२३’ अन्नपूर्ण हिमाल सरसफाइ गरिदैछ ।
अन्नपूर्ण सरसफाइ गर्ने नेपाली सेनाको टोली पोखराबाट विदाई भएका छन । पोखरा महानगरपालिकाले हिमाल सरसफाइ गर्न जाने सेनाको टोलीलाई बिहीबार विदाई गरेको हो ।
विदाईसँगैै टोलीलाई विश्वको १० औं अग्लो अन्नपूर्णको चुचुरोमा फहराउने पोखरा महानगरपालिकाको झन्डासमेत हस्तान्तरण गरिएको छ । नेपाली सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । चैत १४ मा सुरु अभियान जेठ २२ गतेसम्म जारी रहनेछ । अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोेहोर संकलन गर्ने लक्ष्य छ ।
अन्नपूर्ण सरसफाइ टोलीलाई महानगरको तर्फबाट १५ लाख रुपैयाँ सहयोग गर्ने मेयर धनराज आचार्यले घोषणा गरे । ‘पोखरा हिमालको पर्यायवाची शहर भएकाले सफाइ अभियानमा हाम्रो पनि उत्प्रेरणा होस् । हामी साथमा छौं भनेर भावना मिसाउन सहयोग गरेका छौं’, उनले भने । मेयर आचार्यले पोखरालाई हिमालबिना कल्पना गर्न नसकिने बताए ।
सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंगा हिमालबाट कुहिने ७ हजार १५७ किलो फोहोर संकलन गरेको थियो । ३३ हजार ८७७ केजी नकुहिने फोहोर संकलन गर्दा २ मानव कंकाल फेला परेका थिए ।
सन् २०१९ मा सगरमाथा हिमाल सरसफाइ गरिएको थियो । २०२० मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालमा सेनाले सरसफाइ अभियान चलाएको थियो ।
फोहोरले पारेको नकरात्मक प्रभाव कम गर्न हिमाल सफाइ अभियान सुरु गरेको नेपाली सेनाको पश्चिम पृतनाको पृतनापति दीपककुमार बानियाँले बताए । ‘८ हजार मिटर अग्ला हिमाल र बेसक्याम्पमा हुने फोहोर जति निकाल्न सक्छौं वातावरणलाई पारेको नकरात्मक प्रभावबाट कम हुन्छ’, उनले भने ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०१:५५




