पोखरा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । शुक्रबार देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो ।
पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा परीक्षा भएको छ । आज नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको पनि परीक्षा भएको छ । कास्की जिल्लाबाट १० हजार ३ सय ३९ जना परीक्षार्थी सहभागी भए भने १ सय ३ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । कास्कीका २ सय ९१ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएको सुवेदीले बताए ।
पोखराका ३२ वटा तथा अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा एक-एक वटा परीक्षा केन्द्र गरी कास्कीमा ३४ वटा केन्द्र रहेको सुवेदीले बताए । यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी भएका छन् । परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र तोकिएको छ ।
यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।




