२५ जना भन्दा बढी जान नपाइने
पोखरा
तनहुँ १, चितवन २ र बारा २ नम्बर क्षेत्रमा वैशाख १० गते हुने संघीय संसदको उपचुनावमा आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने छ । उपचुनाव हुने क्षेत्रमा स्थापना गरिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
चुनावको लागि उम्मेदवारी दर्ता गर्दा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जना भन्दा बढी जान नपाइने आयोगले भनेको छ । निर्वाचन आचारंहिता २०७९ विपरीत हुने गतिविधि नगर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले सचेत गराएको छ । उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नपाइने आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचनमा उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन तनहुँ १ मा राजनीतिक दललाई छुट्टाछुट्टै समय तोकिएको छ । मुख्य निर्वाचिन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेलाई ११ बजे, नेपाली कांग्रेसलाई बिहान १२ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे, नेकपा (एकीकृत समाजवादी) लाई १ः३० र नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बज को समय तोकिएको छ ।
चितवन २ बाट निर्वाचित रवि लामिछानेकोे नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद पद खारेज भएपछि त्यहाँ चुनाव हुन लागेको हो । मंसिर ४ को चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचितन भएपछि ती क्षेत्र खाली भएका थिए ।
तनहुँ–१ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका डाक्टर स्वर्णिम वाग्ले र नेकपा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएका छन् । अर्थविद् वाग्ले कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका हुन् । मंसिरमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले उप–निर्वाचन प्रतिष्पर्धा नगर्ने घोषणा गरेका छन ्। जोशी समूहको मत तनहुँ १ मा निर्णायक मानिन्छ । राप्रपाले तनहुँ १ मा शोभा गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
चितवन–२ मा रवि लामिछानेलाई नै राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ । त्यहाँ एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । बारा–२ मा जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनभित्रका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपलो जसपाका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । बारामा रास्वपाले पूर्व डिआइजी एवं सुशासन पार्टीका अध्यक्ष रमेश खरेललाई उम्मेदवार बनाउँदै छ । एमालेले बारा–२ को उम्मेदवार तोकिसकेको छैन । बारा–२ मा राप्रपाले सानेलाल साहलाई उम्मेदवार बनाउँदैछ ।
प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ०७:२१




