पोखरा
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि हुन लागेको उपनिर्वाचनको मनोनयन गर्ने दिन दमौलीका प्रत्येक चिया पसलदेखि जमघटहरुमा उम्मेदवारकै चर्चा छ, यसपटक तनहुँ–१ मा यसै हुन्छ भन्ने नसकिने भयो । २०७९ मंसिरकै चुनावमा एमालेबाट पूर्व आइजीपी सर्वेन्द्र खनालको चर्चा थियो, तर एकबहादुर रानाले टिकट पाए । तनहुँका राजनीतिककर्मीका लागि एमालेले यसपटक उनै खनाललाई टिकट दिनु अपेक्षित नै हो ।
२०७४ सालको निर्वाचनमा तनहुँ १ को प्रदेश सभा १ मा टिकट पाएर पनि हार बेहोरेका गोविन्द भट्टराईले कांग्रेस शीर्ष नेतृत्वले नै उचित व्यवस्थापन गर्ने वचन दिएका थिए । रामचन्द्र राष्ट्रपति भएपछि कांग्रेसबाट होइन तनहुँका सबैजसो पार्टीका नेता कार्यकर्ताको अनुमान थियो, यसपटक गोविन्दले नै टिकट पाउँछन् ।
तनहुँका लागि अनपेक्षित उम्मेदवार हुन्, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले । प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा कांग्रेसकै उम्मेदवारलाई जिताउन तनहुँ आएका स्वर्णिम यसपटक आफैं उम्मेदवार बनेर आए । कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल भन्छन्, ‘कांग्रेस नै परित्याग गरेर स्वर्णिम आफैं उम्मेदवार बन्छन् भन्ने अपेक्षित होइन ।’
मनोनयनका दिन दमौली बजार अबको चुनावको परिणामबारे चर्चा गरिरहँदा स्वर्णिम भने बुल्दी खोलानजिकैको एक होटलमा बसेर आफ्नै विरासतको पार्टी कांग्रेस नजिकका मान्छे भेट्ने र आफ्नो पक्षमा माहोल बनाउँदै थिए । दमौली बजारदेखि बुल्दी खोला कटेपछि व्यास–४ सिमरटारको एक होटलमा स्वर्णिम आइतबारदेखि बसिरहेका छन् ।
रास्वपामार्फत तनहुँ–१ मा स्वर्णिमलाई जोडेका श्रीराम न्यौपानेले मानिसहरुसँग सहजीकरण गरिरहेका छन् । तनहुँबाट चितवन बसाईं सरेका श्रीरामले तनहुँ–१ मा पुरानो सम्बन्धलाई जोड्न र स्वर्णिमलाई बुझाउने काम गरिरहेका छन् ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ मा वडा सदस्य जितेर अघिल्लो चुनावमा गोविन्दराज जोशी समूहमा लागेर वडाध्यक्षमा उठेका चुणामणि दाहालले स्वर्णिमलाई भेटेर भन्दै थिए, तनहुँमा यसपटक पुराना दलले पाठ सिक्छ । राष्ट्रपति रामचन्द्र पौडेलकै गाउँ व्यास–८ रिस्ती बाहुनपोखराका उपेन्द्र पौडेलले यसपटक स्वर्णिमलाई नै वचन दिए । ‘रामचन्द्र काकालाई जिताएकै हो । उहाँ राष्ट्रपति बनेपछि अब तनहुँले पनि राजनीतिक परिवर्तन खोजेको छ ।’
स्वर्णिमले भेट्न पुग्नेहरुलाई भनिरहेका छन्, यो पटक नयाँ राजनीतिक डिस्कोर्स थाल्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पाार्टीले मनोनयको अघिल्लो दिनदेखि नै गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । चितवन–२ मा पार्टी सभापति रवि लामिछानेले जित्ने पक्काजस्तै भएको निश्कर्ष निकाल्दै तनहुँकै सबै शक्ति लगाउने रास्वपाको योजना छ ।
अघिल्लो चुनावमा रास्वपाका विकास सिग्देलले तनहुँ–१ मा ६ हजार ३ सय ल्याएका थिए । २५ हजार ३ सय १८ मत ल्याएर रामचन्द्रले चुनाव जित्दा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । कांग्रेसबाटै कारबाहीमा परेका स्वतन्त्र उम्मेदवार पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए । १२ हजारभन्दा बढी समानुपातिक मत ल्याएको रास्वपाको रणनीतिबारे एक केन्द्रीय नेताले भने, ‘रविको लोकप्रियतासँगै स्वर्णिमको व्यक्तित्व बुझाउने, स्वर्णिमको विरासत सबैभन्दा बढी कांग्रेसमै जोडिएकाले त्यता फोकस गर्ने, एमाले र स्वतन्त्र मानिसलाई पनि तान्ने हर सदस्यले कोसिस गर्ने ।’
स्वर्णिम र स्वतन्त्र पार्टीका नेताहरुलाई यसपटक गोविन्दराज जोशीको समर्थन पनि जुट्ने विश्वास छ । जोशी समूहले उम्मेदवारी नदिने तर व्यक्ति हेरेर मत दिने बताइसकेको छ । स्वर्णिमले विभिन्न क्षेत्रका मानिसहरुलाई भेटेर बिहानैदेखि माहोल बनाइरहेका छन् । होटलमा एकसरो भेटघाट सकेर दमौली बजार निस्कनुअघि स्वर्णिमले कुराकानी गर्दै जनतालाई आफ्नो एजेण्डा बुझाउन लाग्ने बताए ।
मस्र्याङ्दी पारी गोरखाबाट चितवन सरेका स्वर्णिम यसपटक तनहुँ–१ मा इतिहास रच्ने सपनासहित चुनावमा होमिएका छन् । भन्छन्, ‘यो मेरा लागि नयाँ ठाउँ होइन, मेरा थुप्रै आफन्त यहीँ हुनुहुन्छ । म यसपटक यहीँको माटोमा आफूलाई परीक्षण गर्न आएको छु ।’
नेतृत्वको व्यवहार, असहिष्णु रबैया अपनाइएको महसुस भएपछि आत्मसम्मानका लागि पनि लामो कांग्रेस विरासत छोडेर निस्किएको स्वर्णिमले दोहोर्याइरहेका छन् । नेपाली कांग्रेसका गतिविधिले उत्साह गर्ने काम नगरेको स्वर्णिमको भनाइ छ ।
२०७९ मंसिरको चुनावमा जिल्ला जिल्लामा पुगेर एउटा चुनावमा टिकट नपाउँदैमा केही नहुने बताएका स्वर्णिम ४ महिनापछि नै टिकटकै लागि पार्टी त्याग गरे । निर्वाचनताका रिफर्म होला भन्ने सोचेको तर ४/५ महिनापछि पनि त्यो नदेखेपछि बाहिरिने निश्कर्षमा पुगेको उनको भनाइ छ । ‘आफ्नो उर्वर उमेरमै केही हस्तक्षेत्र गरौं भन्ने भयो । म चाहिँ समयसीमा तोकेर २ कार्यकालभन्दा राजनीति गर्न हुन्न भन्नेमा विश्वास भएको मान्छे हुँ,’ उनले भने । राजनीतिलाई पेशा बनाउने र भ्रष्टीकरण गर्ने राजनीतिक व्यवस्थाको एउटा उत्तर पनि आफ्नो पार्टी त्याग र उम्मेदवारी भएको उनको भनाइ थियो । ‘पाँच वर्ष हात बाँधेर, ढुकेर बस्ने आफ्नो प्राइम इयर्स, यो पनि भएन भन्ने भो’ उनले भने, ‘अहिले अवसर पनि आयो । उपचुनावमा ३/३ वटा ठाउँ खाली भयो, जुन त्यतिबेला थाहा थिएन । एक पटक परीक्षण गरौं न भनेर मैदानमा उत्रिएको हुँ ।’
अवसरका लागि मात्र कांग्रेस छोड्दै रास्वपा रोजेर उम्मेदवार भएको आरोपलाई स्वीकार्दैनन्, उनी । भन्छन्, ‘अवसर त आफैंमा नराम्रो होइन । मलाई हराइदिएर पठाइदिए भयो नि त । म आछु, आफ्नो कुरा राख्छु, लोकतन्त्रमा जनताले के भन्छ भन्ने कुरामा विश्वास राख्नुपर्ने हुन्छ ।’ नेपाली कांग्रेसमा अपेक्षित सुधार नदेखेकाले एक पटक हाम फालेको उनले दोहोर्याए ।
रामचन्द्र पौडेलले आफैं बोलाएर सल्लाहकार हुन भनेको तर आफू दरखास्त हालेर नगएको उनले स्पष्ट पारे । मनोनयन दर्तासँगै आजैदेखि क्याम्पेन सुरु भएको उनको भनाइ छ । तनहुँको चुनावलाई देशैभरिबाट चासोका साथ हेरिएको छ । तनहुँ–१ मा राष्ट्रिय निर्वाचन क्षेत्रजस्तो भएको उनी पनि बताउँछन् ।
कांग्रेस महामन्त्री गगन थापाका प्रिय पात्र भनेर चिनिएका स्वर्णिमले आफूमाथि नेताहरु नखनिने देखेका छन् । गोविन्द भट्टराईको मनोनय दर्ताका निम्तिमात्रै होइन, तनहुँको निर्वाचनमै गगनलाई कांग्रेसले खटाएको छ । तनहुँ–१ स्वर्णिमका निम्ति त्यति सहज भने छैन ।
स्वर्णिम बजारमा निस्किँदा उनका वरिपरी मानिसहरु भेला भइरहेका थिए । व्यास–२ पदमचोकमा त्यही पार्टी रास्वपाको कार्यालय भने सुनसान थियो । प्रजातान्त्रिक आन्दोलनमा परिवारै लागेका पदमको नाममा राखिएको चोकनेर भेटिएका एक स्थानीयले भने, ‘यहाँ व्यक्तिभन्दा धेरै पार्टी हेरिन्छ । दमौली अझै पनि गाउँ नै हो । त्यति सजिलै मत बदलिन्नँ । जतिसुकै अब्बल व्यक्ति आए पनि भन्न सकिन्नँ ।’ तनहुँ–१ यस्तो क्षेत्र हो, जहाँ अधिकांश चुनाव कांग्रेसले नै जितेको छ ।
प्रकाशित मिति २०७९ चैत २० गते सोमबार ११:४५



