पोखरा
संघीय संसदको रिक्त रहेको तीन क्षेत्रमा वैशाख १० गते उपचुनाव हुँदैछ । तनहुँ १, चितवन २ र बारा २ मा उपचुनाव हुन लागेको हो । उपचुनावको लागि आजदेखि निर्वाचन आचारसंहिता जारी भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता, २०७९ लाई को प्रभावकारी कार्यान्वयन गर्न/गराउन नेपाल सरकार र सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता जारी भएकाले त्यस विपरीत हुने गरी कुनै पनि गतिविधि नगर्न निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । निर्वाचन आचारसंहिता विपरीत गतिविधि भएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी निर्वाचन आयोगको छ ।
समितिले निर्वाचन आचारसंहिता, २०७९ उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले लिखित, मौखिक, सामाजिक सञ्जाल, विद्युतीय माध्यमबाट आधार र कारण खुलाइ दिनसक्ने आयोगले बताएको छ । आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समिति, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय, सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन समिति समक्ष उजुरी दिन सकिने छ ।
तनहुँ १, चितवन २ र बारा क्षेत्र नं २, मा उम्मेदवारले खर्च गर्न पाउने निर्धारित अधिकतम खर्चको हदभित्र रही खर्च गरे नगरेको समेतका विषयमा सुक्ष्म निगरानी गरी आयोगलाई जानकारी गराउन सम्बन्धित कार्यालयलाई आयोगले भनेको छ ।
गत मंसिरमा भएकाे संसदीय चुनावमा तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएको र चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएर संसद पद खारेज भएपछि उपचुनाव हुन लागेको हाे।
आचारसंहिता लाग्ने निकाय
१) नेपाल सरकार र नेपाल सरकारका मन्त्री
२) प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री
३) संवैधानिक निकाय र सो निकायका पदाधिकारी
४) नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
५) स्थानीय कार्यपालिका र सोका सदस्य
६) सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी
७) सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी
८) सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी
९) राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन
१0) उम्मेदवार तथा सम्बन्धित व्यक्ति
११) राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि
१२) सार्वजनिक पद धारण गरेको व्यक्ति
१३) अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
१४) पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
१५) सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
१६) निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी
१७) विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
१८) मतदाता
१९) विकास साझेदार संस्था
२०) सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी
२१) मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी
२२) निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र,
सोका पदाधिकारी, कर्मचारी तथा कामदार
२३) वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार
प्रकाशित मिति २०७९ चैत २४ गते शुक्रबार ०७:३८




