पाेखरा । युएईमा जारि आईपीएलमा दिल्ली क्यापिटल्सले लगातार चाैथाे हार व्यहाेरेकाे छ । दिल्लीलाई ९ विकेटले पराजित गर्दै मुम्बई लिगको शिर्ष-२ स्थानमा रहँदै पहिलो क्वालीफायर खेल्ने पक्का भएको छ। हार पछि पनि दिल्लीको प्ले-अफ सम्भावना भने अझै कायमै रहेको छ ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १११ रनको सामान्य लक्ष्य मुम्बईले मात्र १ विकेट गुमाएर १४.२ ओभरमा पुरा गर्याे ।
मुम्बईको लागि इशान किशनले सर्वाधिक अविजित ७२ रन बनाए जुन क्रममा ८ चौका र ३ छक्का प्रहार गरे । क्विन्टन डीककले २६ तथा सुर्यकुमार यादवले अविजित १२ रन बनाए ।
दिल्लीको बलिंगमा एनरिक नोर्कियाले १ मात्र विकेट लिए।
यसअघि टस हारेर ब्याटिंग गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्र बनाएको थियो ।
दिल्लीको लागि कप्तान श्रेयस ऐयरले २५, रिशभ पन्तले २१, रभीचन्द्रन आश्विन र कागीसो रबाडाले समान १२, शिमरन हेटमायरले ११, पृथ्वी शले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर पृथ्वी श र शिखर धवनलाई ट्रेन्ट बोल्टले छिट्टै पेभेलियन फर्काएपछि तेश्रो विकेटको लागि कप्तान ऐयर र पन्तले ३५ रनको साझेदारी गरे । ऐयरलाई ११ औं ओभरमा लेग स्पिनर राहुल चाहरले स्टम्पिंग गराएपछि दिल्लीले पुनः लगातार विकेट गुमाउन पुग्यो । लगत्तै ओभरमा मार्कस स्टोइनिस र पन्तलाई बुम्राहले पेभेलियन फर्काए ।
१४ औं ओभरमा हर्षल पटेललाई बुम्राहले तथा शिमरन हेटमायरलाई १६ औं ओभरमा नाथन कौल्टर नाइलले आउट गरेपछि दिल्लीकाे पारी धर्मरायाे । तल्लो क्रममा आश्विन, दुबे र रबाडाले दिल्लीकाे पारी केहि उकास्ने प्रयास गरे ।
मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-१७-३ ) र ट्रेन्ट बोल्टले ( ३-०-२१-३ ) समान ३ विकेट लिए। राहुल चाहर ( ३-०-१९-१ ) र नाथन कौल्टर नाइल ( २-०-१४-१ ) ले समान १ विकेट लिए।
प्रकाशित मिति २०७७ कात्तिक १६ गते आइतबार ०६:३५




