२०८३ साउन २१ गते बिहीबार

नयाँ वर्षको चहलपहल सुरू, पोखराका होटलमा बुकिङ बढ्दै

नयाँ वर्षको चहलपहल सुरू, पोखराका होटलमा बुकिङ बढ्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २७ गते सोमबार ०८:३३

विदेशी पर्यटक अग्रिम होटल बुकिङ गरेर आउने गर्दछन् भने आन्तरिक पर्यटकको अग्रिम बुकिङ कम छ । आन्तरिक पर्यटक होटल पुगेपछि मात्र बुकिङ गर्ने हुँदा नयाँ वर्षमा लेकसाइडसहित पोखराका होटल ८० प्रतिशत बुकिङ हुने अनुमान छ ।

पोखरा

नयाँ वर्ष आउन अब ४ दिन मात्र बाँकी छ । नयाँ वर्षको पहिलो दिन सार्वजनिक बिदा । २०८० सालको पहिलो दिन शुक्रबार र २ गते शनिबार भएकाले पोखरासहित देशका विभिन्न पर्यटकीय सहरमा घुम्न चाहनेले होटल  बुकिङ गर्न थालेका छन् । आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने पोखरामा पनि नयाँ वर्षको लागि होटल बुकिङ सुरु भएको छ ।

नेपाली नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकलाई लक्षित गरी होटल संघ पोखराले फेवाताल किनारमा फेवा महोत्सव नै आयोजना गरेको छ । चैत २९ देखि सुरु हुने महोत्सवले कोभिडपछि थला परेको पोखराको पर्यटनलाई चलायमान बनाउन सहयोग पुर्याउने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । महोत्सवमा ३ लाख पर्यटक सहभागी गराउने गरी महोत्सवको तयारी गरिएको सुवेदीको भनाइ छ ।

सुवेदीका अनुसार नयाँ वर्षलाई नै लक्षित गरेर होटल बुकिङ समेत सुरु भएको छ । महोत्सवको अवसरमा होटलमा २० प्र्रतिशत छुटको व्यवस्था समेत गरिएको सुवेदीले बताए । ‘नियमित रुपमा करिब ३० प्रतिशत होटल बुकिङ नै छन्’सुवेदीले भने,‘ नयाँ वर्ष नजिकिदाँ १० प्रतिशत बुकिङ बढेको छ, नयाँ वर्षमा ८० प्रतिशत बुकिङ पुग्ने अनुमान छ ।’ विदेशी पर्यटक होटल बुकिङ गरेर आउने गर्दछन् भने आन्तरिक पर्यटकको अग्रिम बुकिङ कम छ । आन्तरिक पर्यटक होटल पुगेपछि मात्र बुकिङ गर्ने हुँदा नयाँ वर्षमा ८० प्रतिशत लेकसाइडसहित पोखराका होटल बुकिङ हुने सुवेदीको अनुमान छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धनको साथै नेपाली नयाँ वर्षका बारेमा विदेशीलाई चिनाउन महोत्सव आयोजना गरिएको संघको भनाइ छ । पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव आयोजना हुनेछ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइनेछ । नेपाली संस्कृतिको संरक्षण र खानाको प्रर्वद्धन गर्न ‘पर्यटन, संस्कृति र खाना’ लाई प्राथमिकता दिएर होटल संघ पोखराले नेपाली नयाँ वर्षमा फेवा महोत्सव गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ चैत २७ गते सोमबार ०८:३३
हजुरको प्रतिक्रिया