पोखरा
विद्युत प्रसारण गर्न निर्माण गरिएका हाइटेन्सन लाइन संरक्षण गर्नुपर्ने गिद्धका लागि मृत्युको पासो बनेको छ । नेपाल पंक्षी संरक्षण संघको तथ्याङ्मा पछिल्लो १३ वर्षमा हाइटेन्सन लाइनमा ठोक्किएर १ सय २२ गिद्ध मरेका छन् । सन् २०१० देखि २०२३ सम्मको तथ्याङ्कमा गत वर्ष सबैभन्दा धेरै ३१ गिद्ध विद्युत्तीय तारमा ठोक्किएर मरे । यो वर्ष मात्रै १२ गिद्ध मरेको तथ्यांक छ ।
पोखरामा भएको गिद्धको लागि विद्युत्तीय जोखिम र व्यवस्थापनबारे सरोकारवालासँगको अन्तरक्रियामा नेपाल पंक्षी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम व्यवस्थापक अंकितविलास जोशीले ७ प्रजातीको गिद्ध विद्युत्तीय तारमा ठोक्किएर मरेको जानकारी दिए । गिद्धको संख्यासँगै विद्युत्तीकरण बढेकाले हाइटेन्सन लाइनमा ठोक्किएर गिद्ध मर्ने घटना बढिरहेको उनको भनाइ छ । गिद्ध मर्ने अर्को कारण भने गाइबस्तुमा लगाइने इनजेक्सन भएको जोशीले बताए ।
पछिल्लो समय गण्डकी प्रदेशको कास्की र तनहुँका स्थानीय तहले छाडा पशुचौपाय राख्न गौसंरक्षण केन्द्र सञ्चालन गरिरहेका छन् । गौसंरक्षण केन्द्र गिद्ध संरक्षण केन्द्र पनि भएका छन् । बुढा रोगी गिद्ध मरेपछि सिनो खान पाउने भएपछि गिद्धले गौसंरक्षण आसपासको क्षेत्रलाई आफ्नो वासस्थान बनाएका हुुन् । तर, उपयुक्त स्थानमा गौसंरक्षण केन्द्र नहुदाँ गिद्ध हाइटेन्सनमा परेर मर्ने घटनामा वृद्धि भइरहेको छ । गौसंरक्षण केन्द्र सञ्चालन गर्न उपयुक्त स्थानको छनोट नभएको पोखरा पंक्षी समाजका अध्यक्ष हेमन्त ढकालले बताए । उनले गौसंरक्षण केन्द्र आसपासबाट हाइटेन्सन लाइन हटाउनुपर्ने उल्लेख गरे ।
अन्तरक्रियामा सरोकारवालाले गिद्ध संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । संकटापन्न गिद्धका लागि त झन जोखिम भएकाले हाइटेन्सलाइन चरामैत्री बनाउनुपर्ने उनीहरुको भनाई छ । चराको वासस्थान, पुहँचमा बारेमा जानकारी भए हाइटेन्सन लाइनलाइ सुरक्षित बनाउन सकिने नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका सहायक प्रबन्धक शिव गोसेलिले बताए ।
प्रकाशित मिति २०७९ चैत २९ गते बुधबार ०३:१०



