२०८३ कात्तिक ११ गते मंगलबार

नभाँचिएको हातमा प्लास्टर !

नभाँचिएको हातमा प्लास्टर !

सुमन जङ्ग थापा

@Public 4K Tv

२०८० वैशाख १ गते शुक्रबार ०८:२७

उनी भन्छन्, “अहिले हातको दुखाइ केही छैन । मोटरसाइकल चलाएर नै हिँडेको छु । पर्वत अस्पतालले हातमा गर्देको प्लास्टरको भर परेर बसेको भए के हुन्थ्यो ? अस्पतालको चरम लापरबाही देखियो ।”

कुश्मा

पर्वत बिहादी गाउँपालिका–१ घर भएका युवा प्रकाश आचार्यले कुश्माको एक निजी विद्यालयमा पढाउँछन् । उनी कुश्मा बस्न थालेको धेरै वर्ष भइसकेको छ । कुश्मामा रहेका अग्ला तथा लामा झोलुङ्गे पुलमा मोटरसाइकलबाट सयौँ पटक ओहोरदोहोर गरिसकेका छन् ।

उनै आचार्य गएका शुक्रवार बेलुका पनि कामको सिलसिलामा ज्ञादी जाँदै थिए । तर, झोलुङ्गे पुल तर्दै गर्दा मोटरसाइकलसँगै लड्न पुगे । पुलको दुबैतर्फ जाली लगाइएको हुँदा दुर्घटना सामान्य थियो । आचार्यलाई घोडामा र दाहिने हातमा चोट लाग्यो । तत्कालै ट्याक्सीमा राखेर नजिकैको पर्वत अस्पताल पु¥याइयो ।

हातमा बेस्सरी पीडा भएको भन्दै उनले अस्पतालमा कार्यरत डाक्टरलाई जानकारी गराए । डियुटिमा रहेका डाक्टरले पनि दाहिने हातको एक्स–रे गरे र रिपोर्ट उल्टाउँदै पल्टाउँदै हेर्न थाले । उनले धेर बेर हेर्दा समेत केही मेसो पाएनन् । फेरि उनै डाक्टरले दोस्रो एक्स–रे गर्न लगाए । “दोस्रो पटक एक्स–रे गरेपछि डाक्टरको रोहबरमा तीन घण्टा लगाएर हातको प्लास्टर गरियो । डाक्टरको नाम चाहिँ ठ्याक्कै थाहा भएन । उनी चाहिँ एमबिबिएस डाक्टरै हुन् । उनकै रोहबरमा अर्कैले हातको प्लास्टर गरेका हुन् ।”, आचार्यले भने, घर गएपछि झन् बेस्सरी टनटन गरेर हात दुख्यो । अब यसरी हुन्न भनेर आइतबार बिहानै पोखरा मेट्रोसिटि अस्पताल गएँ ।”

आचार्यले पर्वत अस्पतालले दाहिने हातमा गरिदिएको प्लास्टर र एक्स–रेको रिपोर्ट मेट्रोसिटिका हाडजोर्नी विशेषज्ञ डाक्टर चन्द्रबहादुर मिश्रलाई देखाए । आचार्यलाई प्लास्टर गरेको हातको पीडा सहन गाह्रो हुँदै थियो । यता डाक्टर मिश्रले चाहिँ एक्स–रे हेर्दै थिए । त्यसपछि डाक्टर मिश्रको जवाफ सुनेर आचार्य चकित परे ।

डाक्टर मिश्रले उनलाई “तपाईँको हात केही भएको छैन । प्लास्टर फुकाएर आउनु ।” भन्छन् । उनलाई विश्वास लाग्दैन र सोध्छन्, “एक पटक फेरि एक्स–रे गर्न पाए राम्रो हुन्थ्यो कि ?” जवाफमा डाक्टर मिश्र भन्छन्, “पर्वतमा नै गरेको एक्स–रेमा प्रस्ट देखिएको छ । तपाइको हातमा समस्या छैन । प्लास्टर खोलेर जानु । हप्ता दिन आराम गर्नु आफै निको हुन्छ ।” आचार्यले पोखराका डाक्टर मिश्रले भनेजस्तै गरे । उनी दुर्घटनामा परेका आज शुक्रवार ठ्याक्कै एक हप्ता भयो । उनी भन्छन्, “अहिले हातको दुखाइ केही छैन । मोटरसाइकल चलाएर नै हिँडेको छु । पर्वत अस्पतालले हातमा गर्देको प्लास्टरको भर परेर बसेको भए के हुन्थ्यो ? अस्पतालको चरम लापरबाही देखियो ।”

अस्पतालले लापरबाही नभएर बिरामीको सहजिकरणका लागि हातको आधा गोलाइलाई मात्र कभर गरेर स्लयाव प्लास्टर गरिएको बताएको छ । “बिरामीको हातमा लछारेको चोट रैछ । डाक्टरले पहिलो एक्स–रेमा सामान्य देखे पनि बिरामीले बेस्सरी हात दुख्यो भने पछि अर्को भागबाट एक्स–रे गरेर हेर्दा सानो फ्याक्चर देख्नु भएछ ।”, अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुक्मिना अधिकारीले प्लास्टर गर्न लगाउने डाक्टरको भनाइ उद्धृत गर्दै भनिन्, “हामीले सानो चोट लाग्दा कहिलेकाहीँ बिरामीको छिटो रिकभरको लागि पनि स्लयाव प्लासाटर चाहिँ गर्ने गरेका छौँ ।” उनले अस्पतालमा हाडजोर्नी डाक्टर नहुँदा धेरै समस्या भइरहेको समेत बताइन् ।

प्रकाशित मिति २०८० वैशाख १ गते शुक्रबार ०८:२७
हजुरको प्रतिक्रिया