२०८३ असोज २४ गते शनिबार

दृष्टिविहीन महिला क्रिकेट: भारत नेपालसँग ८ विकेटले पराजित

दृष्टिविहीन महिला क्रिकेट: भारत नेपालसँग ८ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १२ गते मंगलबार ०४:०१

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा सुरु दृष्टिविहीन महिला क्रिकेटमा नेपालको बी ३ खेलाडी बिनिता पुनले १ सय ११ रन बनाउदैं विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतकीय बनाउने पहिलो दृष्टिविहीन खेलाडी बनिन् ।

बिनिता पुन शतक बनाउने पहिलो दृष्टिविहीन महिला

पोखरा

बिनिता पुनको शतकसँगै नेपाल-भारत दुइपक्षिय टी–ट्वाण्टी दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्धघाटन खेलमा नेपालले भारतविरुद्ध पहिलो जित निकालेको छ । पोखरा क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको खेलमा टस जितेर फिल्डिङ्ग रोजेको नेपाललाई भारतले १ सय ७३ रनको लक्ष्य दिएको थियो । नेपालले १८ ओभरमा २ विकेट गुमाउदैं १ सय ७४ रन बनाएर भारतलाई ८ विकेटले पराजित गरेको हो ।

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा सुरु क्रिकेटमा नेपालको बी ३ खेलाडी बिनिता पुनले १ सय ११ रन बनाइन् । यो सँगै उनी विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतकीय बनाउने पहिलो दृष्टिविहीन खेलाडी बनिन् ।

नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाएका थिए भने सुष्मा तामाङ्ग शून्य बलमा आउट भइन् । पहिले ब्याटिङ्ग गरेको भारतीय टोलीकी गङ्गगौभाले सबैभन्दा धेरै ७१ रन बनाएकी थिइन् ।

सिरिजको आजको खेलमा प्लेयर अफ द म्याच बिनिता पुन घोषित हुँदै रु ५ हजार नगद सहित मेडल प्राप्त गरिन् । उनको हौसलाका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले थप ५ हजार नगद पुनलाई प्रदान गरेका थिए ।

नेपालको टोली भगवती भट्टराईको कप्तानीमा र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघि उद्धघाटन कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले आँखामा पट्टी बाँधेर ब्याटिङ्ग गर्दै प्रतियोगिताको उद्धघाटन गरेका थिए । उनले दृष्टिविहीन महिला क्रिकेटका लागि थप कार्यक्रम ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

मंगलबार देखि सुरु भएको खेल बैशाख १७ गतेसम्म चल्नेछ । खेल बुधबार पोखरामा क्रिकेट मैदानमा र बाँकी ३ खेल काठमाडौं मुलपानीमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु ७५ हजार, दोस्रो हुनेले रु ४५ हजार र प्रति खेल उत्कृष्ट खेलाडीले रु ५ हजार प्राप्त गर्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा रिजन प्रजु तथा प्रशिक्षकमा नहेन्द्र निरौंला छन् ।

प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०४:०१
हजुरको प्रतिक्रिया