पोखरा
मंसिर ४ को निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ १ मा चौथो शक्तिमा सिमिति थियो । ५ महिनापछि शनिबार भएको उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराएको छ । त्यो पनि फराकिलो मतान्तरले ।
न लामो इतिहास न त बलियो संगठन, र पनि मुलधारका दललाई राष्ट्रिय स्वतन्त्र पार्टीले संकटको घण्टी बजाइदिएको छ । त्यसमा पनि एमालेभित्र त खैलाबैला मच्चाउने गरेर भोट ‘ट्रान्सफर’ भएको छ ।
मंगलबार विहान सार्वजनिक उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले १४ हजार ७९७ मतान्तरले निर्वाचित भएका हुन् । स्वर्णिमको पक्षमा ३४ हजार ९१९ मत खसेको छ ।
१ लाख २३ हजार ३०५ मतदाता रहेको यो क्षेत्रमा ६३ हजार ७५७ मत खसेको थियो । कुल मतमध्य वाग्लेको पक्षमा ५४.७६ प्रतिशत मत खसेको हो । मतपरिणामले स्वर्णिम एकातर्फ र अरु ८ उम्मेदवार अर्कोतर्फ हुँदासमेत जित उनकै पक्षमा देखाएको छ ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई ३१.५६ प्रतिशत जनताले मत प्रकट गरेका हुन् । जबकी गोविन्दलाई जिताउन प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसँगै कांग्रेसका केन्द्रीय नेताको दिनहुँ लर्को थियो । महामन्त्री गगन थापा त मनोनयन दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म स्वर्णिमलाई हराउन गोविन्दको पक्षमा निरन्तर लागेको देखिन्थ्यो । परिणाम जनताको हातमा भएपछि कस्को के लाग्छ र !
मनोनयनको २ दिन अगाडि मात्रै कांग्रेस छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले कांग्रेसको रजगजलाई भत्काइदिए । नेकपा एमालेलाई त नराम्ररी पछारे । एमालेका सर्वेन्द्र खनालले जम्मा ८ हजार ४८८ अर्थात् १३.३१ मत पाए । चुनावी मैदानमा रहेका अरु ६ उम्मेदवारले कुल ६०६ मत पाए । उनीहरु सबैको जमानत समेत जोगिन सकेन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै मत नेकपा एमालेको काटेको छ । मंसिर ४ को मत र बैशाख १० मा खसेको मतको हिसाब गर्दा एमाले कमजोर तेस्रो पार्टी बनेको छ । मंसिरको निर्वाचनमा तनहुँ १ का १ लाख २३ हजार ४९० मतदातामध्य ६६ हजार २९६ अर्थात ५३.६८ प्रतिशत मत खसेको थियो ।
नेपाली कांग्रेसका रामचन्द्रको पक्षमा २५ हजार ३६१ जनमत प¥यो । आम निर्वाचनमा भन्दा अहिलेको उपनिर्वाचनमा २ हजार ५३९ मत कम खसेको छ । २ निर्वाचनको तुलना गर्दा कांग्रेसले अहिले ५ हजार २३९ मत गुमाएको देखिन्छ । समानुपातिकमा भने कांग्रेसले २० हजार १५८ मत पाएको थियो ।
यसको कारण, कांग्रेसका नेता कार्यकर्ता स्वर्णिमको पक्षमा लाग्नु र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले इमानदारितापूर्वक मत नखसाल्नु हो । राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र तनहुँ १ मा कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी लगायत प्रभावशाली नेता भएपनि उपचुनावले उनीहरुको प्रभाव खासै नभएको मतपरिणाले पुष्टि गरेको छ । त्यतिबेला दोस्रो भएका नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत पाएका थिए । उपनिर्वाचनमा सबैभन्दा ठूलो झड्का व्यहोरेको एमालेले ११ हजार ४९३ मत गुमाएको छ । एमालेमा मत हालिरहेका सबैभन्दा धेरै मतदाता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएको पाइन्छ ।
नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर कारबाहीमा परेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत प्राप्त गरेर तेस्रो स्थानमा थिए । उपनिर्वाचनको संघारमा कांग्रेसले उनलाई गरेको कारबाही फुकुवा गरेपनि कांग्रेसको पक्षमा मत मागेनन् । मंसिर ४ मा उनले पाएको मत पनि स्वतन्त्रका वाग्लेलाई गएको मतपरिणामले देखाउँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए । ५ महिनाको अन्तरालमा २८ हजार ८७५ मत थप्दै राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले तनहुँबाट उदाएका छन् । २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्दा पनि कांग्रेस, माओवादी र एमालेले पाएको मत जोगाउन नसकेकै देखिन्छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य टुकराज सिग्देल आँकलनभन्दा विपरित मत आएको बताउँछन् । उनका अनुसार स्वर्णिम वाग्ले नेपाली कांग्रेस पृष्ठभुमिका भएकाले उनले कांग्रेसको धेरै मत काट्ने अनुमान थियो । ‘यो अपवित्र गठबन्धन कांग्रेस, कम्युनिष्टहरुको नीति सिद्धान्त मिलेको देखिएन । राष्ट्रिय राजनीतिमा देखापरेको गञ्जागोलको परिस्थितीले पनि जुन पार्टीमा लाग्दा पनि खासै फरक पर्दैन भन्ने मनस्थितीले युथहरुमा देखियो’, उनको विश्लेषण छ । युवालाई उत्पादनसँग जोड्ने कार्यक्रममा विगतका सरकारले ध्यान नदिएको कारण लहैलहैमा लागेको उनको भनाई छ ।
नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल किन मत कम आयो भनेर समिक्षा गर्न बाँकी नै रहेको बताए । ‘अहिलेका आएको ह्मिले गर्दाखेरी मत घटेको छ’, उनले भने । गठबन्धनबीचकै बेमल पनि एउटा कारण भएको उनको भनाई छ ।
प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०६:२४




