काठमाडौं । नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको प्रतिद्धन्द्धीको रुपमा कुवेतलाई पाएको छ । बिहीबार सेमिफाइलनको समीकरण पूरा हुँदा नेपाल र कुवेत आमने सामने हुने भएका हुन् ।
मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनलमा नेपालविरुद्धको भिडन्त तय गरेको हो ।

कुवेतले छाडेको २ सय ७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २ सय ४२ रनमा अलआउट हुँदै प्रतियोगिताबाट बाहिरियो ।
यस अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा मेन अफ द म्याच घोषित सन्दीप लामिछानेले कतारविरुद्ध जोगाउँदै नेपाललाई सेमिफाइनलमा उतारेका थिए । कतारलाई ६८ रनले हराउँदै नेपाल समूह एबाट विजेता बनेर सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको समूहबाट ओमान उपविजेता बनेको छ ।

हङकङलाई पराजित गर्दा कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुग्दा संयुक्त अरब इमिरेट्स युएई समूह विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।
आगाम शनिबार हुने दुबै सेमिफाइलनमा नेपाल कुवेतसंग भिड्दा युएई र ओमानबीच आमने सामने हुनेछन् ।
समूह एमा नेपालले ७ अंक बटुल्दा ओमानले ६ अंक बनायो । यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६–६ अंक बनाउँदा रनरेटमा युएई समूह विजेता बन्यो । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ । यस्तै तेस्रो स्थानको खेल भने आइतबार हुनेछ । प्रतियोगिताको फाइनल जित्ने टोली एशिया कपमा स्थान बनाउने छ ।
प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०६:५६




