२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्रीकै पार्टी भित्रको किचलोले गण्डकी सरकार विस्तारमा सकस

मुख्यमन्त्रीकै पार्टी भित्रको किचलोले गण्डकी सरकार विस्तारमा सकस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २७ गते बुधबार ०९:०१

किस्ताबन्दीमा सरकार विस्तार नगरी एकैचोटी सरकारलाई पूर्णता दिएर काममा ‘फोकस’ हुने सोच  मुख्यमन्त्री पाण्डेको छ ।

पोखरा

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएको १३ दिन पुग्दा पनि गण्डकी प्रदेश सरकार विस्तार हुन सकेको छैन । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले भोलिपल्ट २ जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए । सरकार विस्तार नहुँदा सरकारको काम र सेवा प्रवाह समेत प्रभावित भएका छन् ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि पाण्डेले २१ गते विश्वासको मत लिए । तर, विश्वको मत लिएको पनि साता दिन पुग्दा पनि सरकार विस्तारको कुनै गुञ्जायस छैन । मन्त्रालयको विषयमा सत्ता साझेदार दलबीचमा सहमति भएपनि पाण्डेकै पार्टी कांग्रेस भित्रको आन्तरिक किचलोले सरकार विस्तारमा ढिलाइ भएको स्रोतको दाबी छ ।

मन्त्रालयको भागबण्डा र मन्त्रीको नाम समेत टुंगिएको माओवादी स्रोतको दाबी छ । माओवादीले दुई मन्त्रालय पाउने र अब रेशम जुग्जाली मन्त्री बन्ने पक्का जस्तै भएको माओवादीका नेताहरुले बताएका छन् । स्रोतका अनुसार माओवादीले भौतिक पूर्वाधार र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउनेछ । माओवादीबाट सुशीला सिंखडा विना विभागीय मन्त्री छन् ।

कांग्रेसमा मन्त्री बन्नेको लर्को हुँदा मुख्यमन्त्री पाण्डेलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस भएको कांग्रेसकै सांसदहरुले स्वीकार गरेका छन् । नेपाली कांग्रेसका एक सांसदका अनुसार आकांक्षी धेरै र पार्टीभित्रै गुट व्यवस्थापनदेखि लैंगिक, जातीय र भौगोलिक सन्तुलन मिलाउन पाण्डेलाई सकस भएको छ । कांग्रेसबाट स्याङ्जाकी सरस्वती अर्याल विना विभागीय मन्त्री बन्दा लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, प्रकाश बराल, सरस्वती गुरुङ, बागलुङका जीत शेरचन, डिल्ली सुवेदी र पर्वतकी रेखा गुरुङ मन्त्री बन्ने दौडमा छन् । पाण्डेले आफ्नो गृह जिल्ला गोरखाका नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेपछि सांसदहरुमा असन्तुष्टि बढेको स्रोतको दाबी छ ।

पाण्डेलाई समर्थन गरेका एकीकृत समाजवादीका एक्ला सांसद राजीव गुरुङ पनि मन्त्री बन्ने कसरतमा छन् । मनाङेले आफू मन्त्री बन्ने नबन्ने मुख्यमन्त्रीको हातमा नरहेको र केन्द्रको निर्णय अनुसार नै हुने बताउँदै आएका छन् । तर, राजीवलाई सरकारमा सहभागी गराउनेकी नगराउने भन्ने विषयले पनि सरकार विस्तारमा समस्या भएको कांग्रेस नेताहरुको बुझाइ छ ।

कांग्रेस सांसदका अनुसार किस्ताबन्दीमा सरकार विस्तार नगरी एकैचोटी सरकारलाई पूर्णता दिएर काममा ‘फोकस’ हुने सोच  मुख्यमन्त्री पाण्डेको छ । मन्त्रिपरिषद् विस्तारको लागि पार्टीका शीर्ष नेताहरुसँग परामर्श लिन काठमाडौंमा पुगेका मुख्यमन्त्री पाण्डे हिजो पोखरा फर्किसकेका छन् ।

प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार ०९:०१
हजुरको प्रतिक्रिया