२०८३ असोज २३ गते शुक्रबार

कानुन व्यवसायीहरूकै पिकनिकमा म्याद गुज्रेको बियर !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख २७ गते बुधबार ०२:५४

२४ बाेत्तल पिएपछि बल्ल म्याद गुज्रेकाे बियर भएकाे खुलेकाे हाे ।

म्याद गुर्जेको बियर बेच्ने लाभाजुलाई कारवाही गरिने

पोखरा
मंगलबार पोखरा नजिकैको कार्की डाँडामा जिल्ला बार एसोसिएसन र उच्च अदालत बार एसोसियसनका कानुन व्यवसायीहरुको सामूहिक पिकनिक कार्यक्रम थियो । पिकनिकमा लागि ब्रोडवाइजर नामक बियर लगिएको थियो ।

२४ बोत्तल पिइसकेपछि थाहा लाग्यो, ‘बियरको म्याद २ महिनाअघि नै गुज्रिसकेको रहेछ ।’ पोखरा सेल्वेज डिपार्टमेन्टल स्टोर्सबाट लगिएको बियर म्याद गुज्रेको थाहा भएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालयलाई खबर गरे ।

‘वकिलजीहरुले बियर पिउँदै गर्दा म्याद गुर्जेको भन्ने थाहा भयो । त्यसपछि हामीलाई खबर आयो,’ जिल्ला प्रशासन कार्यालय कास्कीका नासु शिवप्रसाद शर्माले भने, ‘त्यसपछि हामी तत्काल अनुगमनमा गयौं ।’

जिल्ला प्रशासनको अगुवाइमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी र महानगर प्रतिनिधिको टोली म्याद गुज्रेको बर्डवाइजर नामक बियर बेच्ने महेन्द्रपुलस्थित सेलवेज डिपार्टमेन्ट स्टोर्समा पुग्यो । टोलीले बियर पर्स्याङस्थित लाभाजु इन्टरप्राइजजेजबाट ल्याएर सेलवेजले बिक्री गरेको तथ्य खुल्यो ।

‘त्यहाँ पुगेपछि उहाँहरुले बियर बेचेको कुरा स्वीकार्नुभयो । तर, आफूहरुले पनि लाभाजु इन्छरप्राइजेजबाट ल्याएर बेच्ने गरेको बताउनुभयो,’ नासु शर्माले भने, ‘तत्कालै हामी त्यहाँबाट लाभाजुको गोदाममा पुग्यौं ।’

लाभाजुको गोदाममा रहेको ‘एक्सपाइरी जोन’मा धेरै मात्रामा बियरहरु नियमपूर्वक नै राखिएको थियो ।

तर, जब ‘सेल्स जोन’मा अनुगमन टोली पुग्यो, त्यहाँ सबै बियर पनि म्याद गुर्जेका नै राखिएको फेला प¥यो ।

बिक्री गोदाममा गोदाम निरीक्षण गर्दा ३५० मिलिको ३१६ कार्टुन र ११ बोत्तल, ३३० मिलिको ५ कार्टुन र ११ बोत्तल फेला परेको जिल्ला प्रशासनले जनाएको छ ।

कूल १३ लाख ९८ हजार रुपैयाँ बराबरका ती बियरको म्याद जुन महिनामै सकिइसकेको भेटिएको हो ।

गल्पकोर्षको जग्गामा नष्ट गरियो

बरामद गरिएको म्याद गुज्रेका बियरलाई बुधबार पोखरा मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरिएको छ । साथै, म्याद गुज्रेको बियर बेच्ने लाभाजु इन्टरप्राइजेजलाई कारवाही गर्ने भएको छ ।

नासु शर्माले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए ।

शर्माका अनुसार लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका नासु गौतमले बताए ।

‘उपभोक्ता संरक्षण ऐनमा म्याद गुज्रेको वस्तु बिक्रि वितरण गरेमा र बिज बिजक जारी नगरेको खण्डमा ५० हजार देखि १ लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । त्यसैको आधारमा रहेर जरिवाना हुन्छ’, उनले भने ।

प्रकाशित मिति २०८० वैशाख २७ गते बुधबार ०२:५४
हजुरको प्रतिक्रिया