पोखरा
‘मालढुंगा कटेसी घुम्ती घुम्ती रोड
आहा क्या राम्रो बाग्लुङ पञ्चकोट’
सामाजिक सञ्जालमा यो दोहोरी गीत भाइरल छ । बाग्लुङ पञ्चकोट बोलमा गाएको दोहोरी घम्साघम्सीको एउटै श्रृंखला झन्डै ५० लाख दर्शकले हेरेका छन् । बागलुङ नगरपालिका–६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोट पनि प्रख्यात बनिरहेको छ । बागलुङ बजारदेखि ८ किलोमिटर उकालो चढ्न लालयित आन्तरिक पर्यटक बढिरहेका छन् ।
२०७१ सालदेखि निर्माण सुरु भएको पञ्चकोटले धार्मिक मात्रै नभएर प्रकृृतिसँग रम्न चाहाने पर्यटकलाई पनि लोभ्याउँदैछ । बाग्लुङ, पर्वत, म्याग्दीसँगै कास्की, स्याङजा र चितवनका पर्यटक बढी पुग्ने गरेका छन् । गुरुडसँगै बनेको मुर्ती र गण्डकी माताको मन्दिर यहाँको मुख्य आकर्षण हो । हनुमानको मुर्ती, कलश, सिसमहल, कलात्मक शैलीमा बनेको विभिन्न मन्दिर र ध्यान गुफाले पनि पर्यटक लोभ्याउँछ ।
दृश्यअवलोकन गर्न समेत पञ्चकोट उपयुक्त रहेको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषदका महासचिव माधवप्रसाद उपाध्ययले बताए । ‘यहाँबाट धौलागिरी, निलगिरी लगायत दर्जन हिमाल देख्न सकन्छि । कालिगण्डकी माता र बाग्लुङ, पर्वत र म्याग्दीको रमणिय दृश्य हेर्न पाइन्छ’, उनले भने ।
पञ्चकोट धामले पूर्णता पाउन २ अर्ब १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म ५० करोड लगानी भइसकेको छ । पञ्चकोटमा हाल विश्कै अग्लो १३५ फिटको कलश, ५ हजार ५५५ किलोको महाघण्ट, पञ्चनारायण मन्दिर निर्माणाधिन छन् । बाग्लुङको ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटलाई पञ्चकोटमार्फत चिनाउने प्रयत्न गरिएको हो ।




