पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलाे क्वालिफायरमा आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल भिडदैछन ।
विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ काे इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।
अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । राउण्ड रोविनका १४ मध्ये पाँच खेलमा मात्रै उसले पराजय व्यहोर्यो ।
कूल १६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले ८ म्याचमा जित निकाल्यो भने ६ म्याचमा पराजित भयो ।
समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो । पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो म्याचमा दिल्लीलाई मुम्बईले नौ विकेटले हराएको थियो ।
आज दिल्ली यसअघि लिगचरणमा व्यहाेरेकाे दुइ हारकाे बदला लिने तयारीका साथ मैदान उत्रनेछ भने मुम्बई जीतकाे ह्ययाट्रिक गर्ने दाउमा रहनेछ ।
प्रकाशित मिति २०७७ कात्तिक २० गते बिहीबार ०७:४५




