पोखरा
ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शनिबार नमुनाका रुपमा २५ वटा गाडीको प्रदूषण परीक्षण ग¥यो ।
जसमा जम्मा ३ वटा गाडीले मात्रै परीक्षण पास गरे, बाँकी २३ वटा फेल ।
प्रदूषण परीक्षण फेल भएका गाडी निषेध भनिएको पोखरामा नमुनाका लागि जाँच गरिएकामध्ये ८० प्रतिशत गाडीले नै मापदण्ड पूरा नगरेपछि वातावरणीयसँगै जनस्वास्थ्यमा पारिरहेको असरमाथि गम्भीर प्रश्न उठेको छ ।
प्रदूषण परीक्षणका क्रममा डिजेलबाट चल्ने सवारी साधनले ६५ स्मोक डेनसिटीभन्दा तलको अंकलाई पास मानिन्छ ।
पेट्रोलबाट चल्ने सवारीका लागि कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमसम्म मापदण्ड तोकिएको छ ।
०७६ भदौदेखि पहिलो पटक कास्कीमा गाडीको प्रदूषण परीक्षण थालिएको थियो । परीक्षण पास भइसकेपछि कालो नम्बर प्लेटका गाडीलाई ६ महिनाका लागि र रातो नम्बर प्लेटका लागि एक वर्षको म्यादसहितको हरियो स्टिकर दिइन्छ ।
गाडीको प्रदूषण परीक्षण गर्न ४ वर्ष भइसक्दा पनि हालसम्म पूर्ण रुपमा सबै गाडीको परीक्षण नगरिएको पाइएको छ ।
ट्याक्सी तथा काठमाडौं उपत्यका आउजाउ गर्ने गाडीले मात्रै आफूखुसी परीक्षण गर्ने त्यसबाहेक अन्य गाडीको प्रदूषण जाँच अनिवार्य नभएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।
‘अहिले ट्याक्सी, साना गाडी र काठमाडौं जानुपर्ने गाडीले उनीहरुले आफैं भनेपछि मात्रै प्रदूषण जाँच हुन्छन् । बाँकी गाडीलाई अहिलेसम्म अनिवार्य गरिएको छैन,’ मन्त्रालयका सूचना अधिकारी टीकाराम पौडेलले भने ।
हरियो स्टिकर टाँसेका गाडीको पनि पुनः जाँच गर्दा प्रदूषण परीक्षण फेल भएको खुलेपछि मंगलबार मन्त्री रेशमबहादुर जुग्जालीले यातायात व्यवस्था कार्यालयका कर्मचारी तथा प्राविधिकलाई मन्त्रालयमै बोलाएर छलफल गरेका थिए ।
मन्त्री जुग्जाली मगरलाई यातायात व्यवस्था कार्यालयका कर्मचारीले कार्यालयसँग मेसिन भए पनि हालसम्म अनिवार्य परीक्षण नभएको र अन्य यान्त्रिक परीक्षण गरिएपनि प्रदूषण जाँच भने नगरेको स्वीकारेका थिए ।
उनीहरुले कार्यालयमा ठाउँ अभाव भएका कारण पनि सबै गाडीको परीक्षण गर्न समस्या रहेको बिफ्रिङ गरेका थिए ।
‘जाँच अनिवार्य भए ८० प्रतिशत गाडी कारवाहीमा पर्छन्’
मन्त्रालयका कर्मचारी स्रोतका अनुसार पोखराका अधिकांश गाडी प्रदूषण मापदण्डविपरीत छन् । प्रदूषण परीक्षण अनिवार्य गरे पोखराका ८० प्रतिशतभन्दा बढी गाडी कारवाहीमा पर्ने उनीहरुको भनाइ छ ।
ती कर्मचारीका अनुसार परीक्षण अनिवार्य गर्दा एकैपटक ठूलो संख्यामा गाडी कारवाहीमा पर्ने भएकाले यातायात व्यवसायीबाटै लागू नगर्न दबाब सिर्जना भएको छ ।
मन्त्रालयका सूचना अधिकारी पौडेल पनि परीक्षण अनिवार्य नगर्दा पुराना र मर्मत नगरिएको सवारीसाधनले वायु प्रदूषण बढाएको स्वीकारे ।
‘परीक्षण अनिवार्य ग¥यो भने प्रायः गाडी कारवाही पर्छन्, यसबारे हामी जानकार नै छौं,’ पौडेलले भने, ‘तर, अब भने विस्तारै अनिवार्य गर्ने तयारी गरिरहेका छौं । त्यसका लागि सरोकारवाला निकायसँग पनि छलफल गर्दैछौं ।’
मन्त्रालयले गाडीको प्रदूषण परीक्षण अनिवार्य गर्ने विषयमा बुधबार पोखराका सबै यातायात व्यवसायीसँग बैठक बस्दैछ ।
व्यवसायीसँग छलफल पछि प्रदूषण परीक्षण अनिवार्य गर्नेबारे निर्णय गर्ने मन्त्री जुग्जाली मगरले जानकारी दिए ।
‘यो जसरी पनि लागू हुनैपर्छ । तर, त्योभन्दा पहिले यातायात व्यवसायीको पनि पीरमर्का बुझौं, अनि त्यसपछि कहिलेदेखि लागू गर्ने एउटा टुंगोमा पुगिएला,’ मन्त्री जुग्जालीले भने, ‘जनताको स्वास्थ्यसँग गम्भीर असर गर्ने र पर्यटकीय क्षेत्र भएकाले नराम्रो सन्देश नदिन पनि प्रदूषण परीक्षण अनिवार्य लागू हुन्छ ।’
मन्त्रालयका सूचना अधिकारी पौडेलका अनुसार बेलामा सर्भिसिङ नगर्ने, एअरफिल्टर परिवर्तन नगर्ने र पुरानो गाडीले कालो धुवाँ फाल्दै आएका छन् ।
‘प्रदूषण परीक्षण तत्कालै लागू गरियो भने एकैचोटि पोखराको सार्वजनिक यातायात ठप्प हुन जान्छ । त्यसैले केही व्यवसायीलाई आफ्नो गाडी मर्मत गर्ने समय दिएर हामी यो नियम लागू गर्ने योजनामा छौं,’ उनले भने ।
प्रकाशित मिति २०८० जेठ २ गते मंगलबार ०२:५९




