पोखरा
पोखराको संस्थागत विद्यालय कुम्दिनी होम्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १० वर्षदेखि २ वटा सरकारी स्कुललाई सहयोग गर्दै आइरहेको छ ।
कुम्दिनीले पोखरा महानगरपालिका भुर्जुङखोला हिमालय आधारभूत स्कुल र माछापुच्छ«े गाउँपालिकाको बाराही प्राविलाई सहयोग गर्दै आइरहेको छ ।
नेपाल सरकारले केही वर्षअघिमात्रै संस्थागत विद्यालयले सार्वजनिक स्कुललाई एडप्ट गर्नुपर्ने बताएको थियो । तर, कुम्दिनीले भने १० वर्षअघिबाटै बर्सेनि २ वटा स्कुललाई सहयोग गर्दै आइरहेको हो ।
कुम्दिनी होम्सले एडप्ट गरेका २ स्कुललाई पोशाक, दिउँसोको खाजा, स्टेसनरी, विद्यालय भवन मर्मतलगायतमा सहयोग गर्र्दै आइरहेको छ ।
‘सरकारले भन्नुभन्दा पहिल्यै भुर्जुनखोलाको हिमालय स्कुल र माछापुच्छ«े गाउँपालिकाको बाराही प्राविलाई हामीले एडप्ट गरेका छौं,’ कुम्दिनी सञ्चालक अशोक पालिखेले भने ।
गाउँभन्दा टाढा भएकाले विद्यार्थी घ्टदै गएको र मर्ज गर्नुपर्ने अवस्थामा पुगेको स्कुलले अहिले सहयोग पाएपछि सहज हुँदै गएको प्राचार्य रामप्रसाद आचार्य बताउँछन् ।
उनका अनुसार पहिले १९ जना विद्यार्थी भएको उक्त स्कुलमा अहिले ४४ जना पुगिसकेका छन् । कुम्दिीसँगको सहकार्यले बाराहीले धेरै कुरा सिक्न पाएको उनको दाबी छ ।
‘सुरुमा गाउँभन्दा टाढा भएको र दिनदिनै विद्यार्थी लैजान एकदम गाह्रो भएकोले विद्यार्थी संख्या घट्दै गएको थियो, विद्यार्थी थोरै हुँदा मर्ज गर्ने स्थितिमा पुगिसकेको थियो,’ प्राचार्य आचार्यले भने, ‘तर, अहिले कुम्दिनीसँगको सहकार्यले धेरै कुरा सिक्न पाएका छौं । तालिमहरु लिन पाएका छौं ।’
एचआइभी संक्रमित विद्यार्थीलाई पढाउन थालेपछि कुम्दिनी होम्सले सहयोग गर्न थालेको हिमालय स्कुलका प्राचार्य नारायणप्रसाद गौतमले बताए ।
झोलुंगे पुलका कारण विद्यार्थी संख्या घट्दै गएकोमा अहिले भने बढ्दै गइरहेको उनको भनाइ छ । उनका अनुसार अहिले १३ जना विद्यार्थीबाट ३५ जना पुगिसकेका छन् ।
‘एचआइभी लागेका बच्चाहरु रोग सर्दैन भन्छौं । तर, उनीहरुलाई पढाउनै गाह्रो भएकोबेला यहाँ ल्याएर पढाइयो,’ गौतमले भने, ‘पछि पालिखे सरसँग जोडिएपछि स्कुल र विद्यार्थीलाई सहयोगसँगै विद्यालय आउन झोलुंगे पुलमा ट्रस्टपुल पनि बनाइदिनु भयो । अहिले धेरै सहज छ ।’
कुम्दिनीमा अध्ययनरत विद्यार्थीले करिब ३० हजार रुपैयाँको शैक्षिक सामग्री शुक्रबार हस्तान्तरण गरेका छन् ।
‘विद्यार्थीलाई आफूले सकेको सक्दो सहयोग गर्नुपर्छ भनेर सिकाउन पनि यो क्रियाकलाप गर्न जरुरी थियो,’ पालिखेले भने । उनले कुम्दिनीको वार्षिकोत्सवको अवसरमा पनि सहयोग उपलब्ध गराउने जानकारी दिए ।
प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार ०६:१२




