पोखरा
सहकारीमार्फत करोडौं रकम हिनामिना गरेको आरोप लागेसँगै बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् ।
उनले प्रयोग गर्दै आइरहेको मोबाइल नम्बर अफ छ भने नगरपालिकाका अन्य जनप्रतिनिधिसँग पनि सम्पर्कमा नरहेको उपप्रमुख धनबहादुर कठायतले जानकारी दिए ।
कठायतका अनुसार नेपालीले ५ गते कार्यवाहकको जिम्मेवारी दिएको चिठ्ठी पठाएका थिए ।
‘त्यो चिठ्ठी पनि मैले आजमात्रै पाएँ,’ उनले भने, ‘त्यसबाहेक उहाँसँग अन्य सम्पर्क हुन सकेको छैन ।’ कठायतले अन्तिम पटक ४ दिनअगाडि आफूहरु कामविशेषले प्रहरी चौकीमा भेटिएको सुनाए ।
स्रोतका अनुसार नेपाली ३ दिनअघिबाटै सम्पर्कमा छैनन् ।
मेयर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा सहकारीले बैशान ९ गतेबाटै कारोबार बन्द गरेको सूचना जारी गरेको थियो ।
पोखरामा समेत शाखा रहेको इमेज सहकारीका सदस्यले आफूहरुले बचत गरेको रकम फिर्ता नपाएपछि शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि पुगेका थिए ।
तर, सहकारीको विषयमा स्थानीय तहले हेर्ने भएकाले पोखरा महानगर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
‘उहाँहरु सहकारीले बचत फिर्ता नगरेको भनेर यहाँ आउनु भएको थियो । तर, त्यो हेर्ने जिम्मा महानगरको भएकाले त्यता पठायौं, उहाँहरु महानगरमा जानुभयो,’ उनले भने ।





