पोखरा
इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली ७ जनालाई गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको छ ।
गृहले अध्यागमन विभागलाई पत्राचार गरेर नेपालीसहित ७ जना सञ्चालकको यात्रा अनुमति रद्द गर्न भनेको हो । केही दिनदेखि नेपालीसहित सहकारीका पदाधिकारी सम्पर्कविहिन छन् । ढोरपाटन नगरपालिका–१ र बागलुङ नगरपालिका–२ मा कार्यालय रहेको सहकारीको अध्यक्षसमेत रहेका नेपाली भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो । सहकारीको शाखा पोखरामा पनि छ ।
संस्थापक अध्यक्ष नेपालीसहित सहकारीको कार्यवहाक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द भएको हो । सहकारी समस्यामा आएपछि गत चैतमा मात्रै नेपालीले आफुले राजिनामा दिएर परियारलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्रसमेत परिचालन भएको सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए । सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।
भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखिनै सहकारीको शाखामा धाइरहेका छन् । १८ प्रतिशत ब्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । पोखरा महानगरपालिकाको सहकारी महाशाखा प्रमुख भरतराज पौडेलले सहकारीको शाखा पोखरामा पनि रहेकाले अहिले सहकारीको सम्पति रोक्का गर्न पठाइएको जानकारी दिए । बागलुङमा २ महिना पहिलेदेखि नै यो समस्या बाहिर आएको भए पनि पोखरामा वैशाख २५ गतेतिर निवेदन आएको छ ।
बैशाख २८ गते सहकारी अध्यक्ष एवं ढोरवाटनका मेयर देवकुमार नेपाली, पोखराका मेयर धनराज आचार्यसहित महानगरमा छलफल गरी सम्पति विवरण मगाएर रोक्का राख्न पठाइएको पौडेलले जानकारी दिए । तर, बचतकर्ताले त्यतिलेमात्र आफूहरुको रकम सुरक्षित नरहने बताइरहेका छन् ।
प्रकाशित मिति २०८० जेठ ८ गते सोमबार ०४:२१




