गण्डकी प्रदेशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १०० पुग्याे
पाेखरा । पोखराका ३० दिने एकजना नवजात शिशुसहित गण्डकी प्रदेशमा आज थप ४ जनाको कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिकाका ३ जना तथा बाग्लुङकाे जैमिनी नगरपालिकाका १ जना रहेका छन ।
पोखरामा ३० दिने नवजात शिशुकाे शुक्रबार बिहान सवा ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १० का १ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । सो वडाका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बिहीबार राति साढे ११ बजे पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक २ गते कोरोना पुष्टि भएको थियो ।
पोखरा १७ का १ जनाको समेत कोरोना संक्रमणबाट ज्यान गएको छ । ७५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान ९ बजे ज्यान गएको हो । उनलाई कार्तिक १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता बाग्लुङका १ जनाको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको बिहीबार राति ८ बजेर ५० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उनलाई कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय पुगेको छ ।
प्रकाशित मिति २०७७ कात्तिक २१ गते शुक्रबार ०५:०५




