पोखरा
काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले आज तेस्रो स्थानका लागि खेल्दैछ । उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र उज्वेकिस्तान बीचको खेल बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ ।
यान डि ब्रान्डको प्रशिक्षण र अरुणा शाहीको कप्तानीमा रहेको नेपाल तेस्रो हुँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यो खेलपछि नेपाल एसियाली खेलकुदको तयारीमा जुट्नेछ । नेपालको महिला भलिबल टिमले पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो ।
उपाधिका लागि आजै भारत र कजाकस्तान आमनेसामने हुनेछन् । फाइनल खेल अपराह्न ४ बजेपछि सुरु हुनेछ । प्रतियोगितामा ८ राष्ट्र सहभागी भएका थिए । जसमा श्रीलंका पाँचौं, कीर्गिस्तान छैटौं, माल्दिभ्स सातौं र बंगलादेश आठौं स्थानमा छन् ।
प्रकाशित मिति २०८० जेठ १४ गते आइतबार ०७:२८