तत्काल लकडाउनकाे मनस्थितिमा छैन महानगर
पाेखरा । दिनहुँ एक सयदेखि २ सयकाे हाराहारीमा र कहिलेकाहीँ त्याे भन्दापनि धेरै जनामा काेराेनाकाे संक्रमण पुष्टि भएपछि पाेखरा महानगरपालिका काेराेनाकाे हटस्पट बन्दै गएकाे छ । यसअघि गण्डकी प्रदेश सरकारसंग जुहारी खेलेरै लकडाउनकाे घाेषणा गरेकाे महानगरपालिकाले दिनहुँ सयाैंकाे संख्यामा संक्रमित भेटिँदा भने ठाेस कदम चाल्न सकेकाे छैन । यसाे त महानगरकै केहि कर्मचारीहरूमा काेराेनाकाे संक्रमण पुष्टि भएपछि उसले केहि दिन सेवा प्रवाह स्थगन भएकाे सूचना टाँस भने गरेकाे थियाे ।
पछिल्लाे समय महानगरले सेवा प्रवाह जारी राख्दा त्यस्काे प्रत्यक्ष जाेखिममा सेवामा कार्यरत कर्मचारीहरू पर्ने गरेका छन । महानगरकै केहि कर्मचारीहरू काेराेना जितेर कार्यालय फर्कन शुरू गरेका छन भने केहि पाेखराका विभिन्न अस्पताल तथा हाेम आइसाेलेसनमा उपचाररत छन । पछिल्लाे समय महानगरका विभिन्न वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूमा समेत काेराेना पुष्टि हुँदा धमाधम वडा कार्यालयहरू बन्द हुन थालेका छन ।
याे समाचार तयार पार्दासम्म कास्कीकाे रूपा गाउँपालिका र महानगरपालिकाका विभिन्न छ वटा वडा कार्यालयहरु सिल गरिएको अवस्था छ ।
पोखरा महानगरपालिकाको वडा नम्बर १, २, १३, २५, १७ र २७ का कार्यालयहरु बन्द गरी सिल गरिएका छन्। तीनजना वडा सदस्य लगायतका जनप्रतिनिधीका साथमा २३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयहरु सिल गरीएको हो ।
पोखरामा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गदै बिहिबार पोखरा महानगरका प्रमुख सहित महाशाखा प्रमुखको बैठकले उक्त निर्णय गरेको महानगरले जनाएको छ । बैठकमा महानगरका कर्मचारीमा बढदो कोरोना संक्रमण नियन्त्रणका उपाय बारे छलफल भएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।
महानगरकाे अहिले तत्काल लकडाउन जारी गरेर स्वास्थ्य सचेतता अपनाउन तिर लाग्ने याेजना नभएकाे बुझिएकाे छ । महानगरले नगरक्षेत्र भित्र धेरै भिडभाड नगर्न माइकिङं गर्ने, पोखरा महागनरपालिकाको हाताभित्र स्वास्थ्य हेल्प डेस्क राख्ने र सेवाग्राहीका कागजपत्र जम्मा गर्ने र एकदिनपछि सेवाग्राहीकाे काम गरेर कागजात फिर्ता गर्ने लगायत निर्णय गरेकाे जानकारी प्राप्त भएकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक २१ गते शुक्रबार ०५:२९




