२०८३ मंसिर ४ गते बिहीबार

स्याङ्जाको कोल्मामा सातौं राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै, २५ किलोमिटरका विजेतालाई ५० हजार पुरस्कार

स्याङ्जाको कोल्मामा सातौं राष्ट्रिय क्रसकन्ट्री दौड हुँदै, २५ किलोमिटरका विजेतालाई ५० हजार पुरस्कार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ३ गते बुधबार ०६:४५

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिका–५, कोल्मा बराहचौरमा सातौं संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क...

पोखरा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–५, कोल्मा बराहचौरमा सातौं संस्करणको राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ भन्ने मूल नाराका साथ सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते प्रतियोगिता हुन लागेको हो ।मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । गाउँबाट बसाइँसराइ र विदेश पलायन बढ्दै जाँदा उजाडिँदै गएको ग्रामीण बस्तीको संरक्षण, विदेशमा रहेका नेपालीलाई जन्मभूमिसँग जोड्ने तथा खेलकुद र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
यस वर्ष प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा हुनेछ । खुला महिला तथा पुरुष २५ किलोमिटर, खुला महिला १० किलोमिटर, २१ वर्षमुनिका पुरुष १० किलोमिटर, विद्यार्थी छात्र तथा छात्रा ५ किलोमिटर र ३० वर्षमाथिका महिलाका लागि रन फर फन लुडी ट्रेस दौड सञ्चालन गरिनेछ ।
प्रतियोगिताको सबैभन्दा आकर्षण मानिएको २५ किलोमिटर दौडको महिला तथा पुरुष दुवैतर्फका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै द्वितीय हुनेले ४० हजार र तृतीय हुनेले ३० हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी १० किलोमिटर दौडका विजेताले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विद्यार्थी छात्र तथा छात्रा ५ किलोमिटर दौडका विजेतालाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । रन फर फनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
सबै विधाका प्रतिस्पर्धामा दशौं स्थानसम्म हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ । साथै २५ किलोमिटर दौडमा सातसय कोल्मा बहाकोट क्षेत्रका उत्कृष्ट स्थानीय खेलाडीलाई प्रोत्साहनस्वरूप ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितासँगै स्थानीय लोकसंस्कृतिको प्रदर्शन तथा होमस्टे सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ८१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सफल बनाउन कोल्मा बहाकोट समाज यूके, गण्डकी प्रदेश खेलकुद परिषद्, पुतलीबजार तथा शुक्लागण्डकी नगरपालिका, विभिन्न संघसंस्था, स्थानीय वडा सरकार, युवा क्लब, आमा समूह, खेल संघ, स्वयंसेवक तथा सुरक्षा निकायको सहयोग रहने आयोजकले जनाएको छ

प्रकाशित मिति २०८३ मंसिर ३ गते बुधबार ०६:४५
हजुरको प्रतिक्रिया